काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ४२ जना नेपाली श्रमिकले बहिर्गमन ‘एक्जिट’ भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले. हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका उनीहरुलाई एक्जिट भिसा दिएको हो ।
पछिल्लो एक महिनामा १५० जनाभन्दा बढी नेपालीले साउदीमा एक्जिट भिसा पाएको दूतावासले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । एक्जिट भिसा दिन थालेयता चार हजार ६०० भन्दा बढी नेपाली स्वदेश फर्किइसकेको दूतावासले जनाएको छ । गैरकानुनीरुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीतिअनुरुप साउदी अध्यागमनले विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ ।
एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने भएकाले यसबापत कुनै पनि निकायमा शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरुब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने दूतावासले प्रस्ट पारेको छ । साथै भिसा दिने सम्पूर्ण अधिकार साउदी अध्यागमन कार्यालयसँग मात्रै हुने उल्लेख गरिएको छ ।