काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले रु ५० हजार कारबाही गरेको छ ।
विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर संयुक्त रुपमा अनुगमन गर्दा कैफियत पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार रु ५० हजार कारबाही गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिए । सरसफाइमा ध्यान दिइलेबल लगाएर मात्र सामान बेच्न पनि विभागले नेपाल डेरीलाई निर्देशन दिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको पनि प्रवक्ता महर्जनले बताए । प्रयोग गर्ने गरेका जुसका दुई वटा नमुना चेकजाँच गर्दा कैफियत नपाइएको उनले सुनाए । निरीक्षणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न विभागले सो स्टोरलाई निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामङ्गलस्थित अरबिका पिजेरिया प्रालिमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको पाइएको थियो । उपोभग्य मिति समाप्त भएको खाद्य पदार्थ पनि सो प्रालिमा देखिएको विभागले जनाएको छ । पेस्ट कन्ट्रोल प्रभावकारी नरहेको र सरसफाइ पनि सन्तोषजनक थिएन ।
सो प्रालिमा उपभोग्य मिति समाप्त भएका तोफु एक प्याकेट, अपर क्रस्त ब्रान्डको वन दुई प्याकेट, टेस्टी पिक्सेल ब्रान्डको स्ट्रबेरी सिरप १ दशमलव ३ केजीको चार डब्बा नष्ट गरिएको थियो । भान्सामा खाना तयारी तत्काल बन्द गरी निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गरेर सोको प्रमाण विभागमा जानकारी गराउन पनि सो प्रालिलाई निर्देशन दिइएको छ । यो प्रक्रिया पूरा गरेर पुनःनिरीक्षणपश्चात् मात्र सेवा प्रदान गर्नेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सो पसललाई कारबाही अघि बढाइएको छ ।
अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित दाउरा थकाली प्रालि र सोही महानगरपालिकाको वडा नं ३५ स्थित रामेश्वर स्वीटस् एण्ड स्न्याक्समा अनुगमनका क्रममा भने कुनै कैफियत नपाइएको विभागले जनाइएको छ । चाडपर्वका अवसरमा विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।