फागु अर्थात् होली, नेपालीको रंगहरूको चाड । जहाँ सातै रंग मिसाएर एकअर्काबीच रंग लगाएर पारिवारिक वातावरणमा मनाइन्छ । यस्तो अवस्थामा फागु एक पारिवारिक चाड नै हो । एकअर्काबीच मनोरञ्जनात्मक शैलीमा रंग दलेर फागु मनाइन्छ । वास्तवमा यसलाई होली भनिए पनि यसलाई फागु पनि भनिन्छ । श्रीशाके पात्रोअनुसार फाल्गुण पूर्णिमाका दिन होली मनाइने हुनाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ । खायर, जे भए पनि यसलाई होली नै भनेर भन्दा केही फरक पर्दैन । फागु पूर्णिमालाई हिन्दूले मात्र नभएर यो चाड मुस्लिम, किरात, बौद्ध आदि धर्मावलम्बीहरूले पनि मान्दै आएका हुनाले यसलाई नेपालीको साझा चाडका रूपमा पनि लिइन्छ । त्यसो त यो चाडलाई तराई, पहाड र हिमालमा पनि मनाइने हुनाले यसलाई सबै भूगोलमा बस्नेले अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा मनाइने चाड हो ।
तर, पछिल्लो समय होलीले अत्यन्तै उच्छ्रिंखल रूप लिएको छ । रंगको नाममा कालो रंग भन्दै मोबिल, पानी भन्दै फोहोर पानी खेल्नेजस्ता काम भएका छन् । यत्ति मात्र होइन, जो जस्ले होली खेलिरहेका छैनन्, उनीहरूलाई जबर्जस्ती रंग दल्ने कामहरू भइरहेका छन् । यत्ति मात्र होइन, होली खेल्दाखेल्दै युवाहरूबीच झैझगडा गरेर आफ्नो शक्ति देखाउनेजस्ता कामहरू हुन थालेको छ । झन् होली भन्नेबित्तिकै मादक पदार्थ खानै पर्ने, होली खेल्न इच्छा नभएकालाई जबर्जस्ती रंग दलेर पुरुषार्थ देखाउने हुन थालेको छ । महिलाहरू पनि यहि मौकामा छोटा पोसाक लगाएर चिनजान नभएका हुलमा गएर होली खेल्ने, केही नभएसम्म ठीक तर केही गरी आफूमाथि केही भएमा आफ्ना र आफन्त ल्याएर झगडा गराउने संस्कार नै बसेको छ । सुरुमा अपरिचित व्यक्तिहरूसँग होली खेल्न जानु नै गलत थियो । मनोरञ्जन गर्ने नाममा अनेकौँ गलत क्रियाकलाप गर्ने युवाहरूको सम्पर्क नै नगर्नुपर्ने बेला युवतीहरू नै सो समूहमा मिसिने र अन्तमा निहुँ खोजेर होलीको वातावरणलाई धमिल्याउने काम गलत छ ।
तर, यस वर्षको होली केही संयमित देखिन्छ । यसको कारण होली खेल्नेहरू संयमित देखिएका होइनन्, यो त कोरोना भाइरसका कारण संयमित भएको हो । भाइरसकै कारण होली संयमित गर्नु भने दुर्भाग्य हो । कोरोनाले होलीलाई मुद्र्धाशान्ति बनाएको छ । यो भने अत्यन्तै दुःखको कुरा हो । यसै कारण यसवर्षको होली विगतका वर्षझैँ हर्षोल्लासपूर्ण छैन । होलीको उल्लास विस्तारै हराउँदै गइरहेका बेला यसपटक ‘कोरोना भाइरस’ले होलीको रौनक खोसेको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व एक धार्मिक तथा सांस्कृतिक चाड हो । कुनै समय होली उत्ताउलो बन्दै गएको थियो । तर, केही वर्षयता भने पर्व प्रहरीको सक्रियताले सभ्य बन्न थालेको थियो । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको थियो । यसलाई अत्यन्तै सकरात्मक रूपमा लिइएको छ । यस वर्षको होली कोरोनाका कारण खल्लो भएको भए पनि आगामी वर्षहरूको होली हर्षोल्लासमय बनोस् । फेरि पनि होली चाहिँ संयमित होस् ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६ ०६:५०