काठमाडौं - घरेलु कामदारको रुपमा ओमन पुगेर काम गरिरहेका नेपालीलाई बिदामा नेपाल आएर ओमान फर्कनका लागि मस्कटस्थित नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । यसरी बिदामा नेपाल आएर फर्कनका लागि इमेलबाटै सिफारिस प्राप्त हुनेगरी सहजीकरण गरिएको दूतावासले उल्लेख गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै कानुनीरुपमा नेपाल जान आउन पाउने अर्थात् सन् २०२४ सेप्टेम्बर ३० भन्दा अगाडि ओमान आई बिदामा नेपाल गएर पुनः ओमान फर्कनका लागि दूतावासबाट दिइने सिफारिस इमेलबाटै प्राप्त गर्न सकिने बताएको छ ।
यसका लागि दूतावासमा सम्बन्धित स्पोन्सर (मालिक) र कामदार आइरहन नपर्ने व्यवस्था गरिएको छ । अतः सम्बन्धित स्पोन्सरले आफ्नो आधिकारिक इमेलबाट निम्न कागजपत्रसहित अनुरोध गर्नसक्ने व्यवस्था गरिएको दूतावासले उल्लेख गरेको छ ।
त्यसरी प्राप्त कागजात र इमेलको आधारमा दूतावासबाट प्रमाणित गरी इमेलबाटै आवश्यक सिफारिस पठाइने बताइएको छ । यसको थप जानकारी वा आधिकारिकता पुष्टिका लागि दूतावासले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नसक्ने जनाएको छ ।