मस्को- उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई मङ्गलबार आधिकारिक भ्रमणका क्रममा रूस आइपुगेकी छिन् । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्योङयाङले हजारौँ सैनिकलाई रूसमा तालिमका लागि पठाएको दाबी गरेपछि उनी रुस पुगेकी हुन ।
चोए रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकमा ओर्लनुभएको एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ । स्रोतले भनेको छ, “भोलि उहाँ मस्कोमा हुनुहुनेछ ।”रूसी समाचार एजेन्सीहरूले चोएले रूसी अधिकारीहरूसँग वार्ता गर्ने बताए पनि कोसँग गर्ने भन्नेबारे खुलाएनन् ।
वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र उनीहरूले सम्भवतः युक्रेनमा लडाइँ गर्ने बताएको छ । यसलाई सोलले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ का रूपमा वर्णन गरेको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सैनिकहरू देशमा रहेको कुरालाई अस्वीकार गरेका छैनन् ।
परम्परागत मित्र राष्ट्र रूस र उत्तर कोरियाले हालै सम्बन्धहरू बढाएका छन् । प्योङयाङका नेता किम जोङ उनले गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गरेका थिए । पुटिनले २४ वर्षमा पहिलो पटक एकान्त राष्ट्र उत्तर कोरियाको भ्रमण गर्दा जुनमा प्योङयाङमा किमसँग पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए ।
विदेशमन्त्री चोएले यस वर्ष जनवरी र सेप्टेम्बरमा पनि रूसको भ्रमण गरिसकेका छन् । प्योङयाङस्थित रूसी दूतावासले चोएको पछिल्लो भ्रमण दुई देशका नेताहरूले जुनको भेटमा ‘रणनीतिक संवाद’ बढाउने सहमति गरेपछि भएको जनाएको छ ।