इनरुवा- सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बुन्छन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ ।
बिहानै हातमा कुखुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका बेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घर खर्च चलाउन रकम जुटाउने गर्नुहुन्छ । यस वर्ष भने सोचेजस्तो बाँसका सामग्री बिक्री नभएको उनको गुनासो छ । भटाईले गर्त वर्ष छठका बेलामा एक सय ५० वटा कोनिया र एक सय २५ वटा ढकीया बिक्री गरेका थिए ।
यस वर्ष उनले ५० देखि एक सयसम्म कोनिया र ९० वटा ढकीया बिक्री भएको बताए उनीजस्तै हरिनगर–२ का बिन्देश्वर मरिकले छठ पर्वका बेला बाँसका सामग्री बनाएर साहु तथा यजमानबाट लिएको ऋण तिर्ने सोच्नुभएको थियो । वर्षभरि घर खर्च जेनतेन चलाउने मरिक समुदायका अधिकांशले चाडपर्वलाई खर्च जुटाउने अवसरका रुपमा लिने गरेका छन् ।
सोचेअनुसारको बिक्री नहुँदा आम्दानी घटेको बिन्देश्वरले बताए। आधुनिकताको विकाससँगै बजारमा आएका प्लाष्टिकका सामग्रीको प्रयोग बढेसँगै बाँसका सामग्री बिक्री हुन छोडेका उनको भनाइ छ । यसले गर्दा जीविकोपार्जनमा समस्या भएको गीता मरिकले बताए।
बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार फोड्ने, काट्ने र सामग्री निर्माण गर्ने गरिएको भन्दै बनाइएको सामग्री बिक्री नहुँदा आर्थिक अभाव सृजना हुने गीताको भनाइ छ ।
बर्सेनि छठ पर्व मनाउनको सङ्ख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन् । अहिले बजारमा पित्तलका कोनिया, ढाकी पाउनुका साथै प्लाष्टिकबाट निर्मित नाङ्ग्लोलगायत सामग्री पाउन थालेकाले बाँसका सामग्री बिक्री हुन छोडेका चन्दन मरिकले बताए ।
लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रुपमा रहेको छठमा विगतका वर्षमा बाँसबाट निर्मित सामग्रीको प्रयोग बढी हुने गरेकामा पछिल्ला केहीवर्षयता आधुनिक प्लाष्टिकका सामग्रीको प्रयोगले परिक समुदायको पुख्र्यौली पेसा संकटमा परेको बिन्देश्वरले बताए ।
मरिक समुदायको पुख्र्यौली पेसाका रुपमा रहेको बाँसका सामग्री मनाउने कामलाई संरक्षण गर्नुका साथै बजारीकरणमा स्थानीय तह तथा सरोकार भएका निकायले सहयोग गर्नुपर्ने मरिक समुदयका अगसवाको भनाइ छ ।