काठमाडौं– सरकारले वैदेशिक रोजगारीको लागि सुरक्षित र भरपर्दो नयाँ गन्तव्यको खोजी गर्ने क्रममा युरोपेली मुलुक स्पेनसँग श्रम सम्झौताको लागि छलफल अघि बढाएको छ । नेपाल र स्पेनबीच हुनसक्ने श्रम सम्झौताका सम्बन्धमा छलफल गर्नुका साथै र आवश्यक मस्यौदासमेत तयार भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय श्रम सम्झौताको लागि उच्चस्तरीय छलफल भइ प्रारम्भिक रुपमा मस्यौदासमेत तयार पार्ने काम भइरहेको मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले बताए । उनका अनुसार द्विपक्षीय रुपमा हुने सम्झौताको लागि सम्बन्धित निकायबीच सहमतिको प्रयास भइरहेको छ । ‘श्रम सम्झौताको लागि आवश्यक मस्यौदा लगभग तयारी अवस्थामा छ,’ उनले भने, ‘मस्यौदामाथि द्विपक्षीय छलफल गरेर एउटा विन्दुमा पुगेपछि समझदारी पत्रमा हस्ताक्षर गर्ने वातावरण बन्छ, यसमा मन्त्रालय प्रयासरत छ ।’
नेपालबाट जाने कामदारको लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने गरी ‘इम्प्लोयर पे’ मोडलमा नै गन्तव्य मुलुकसँग समझदारी गर्ने सरकारको नीति रहेको भन्दै स्पेनसँग पनि सोही अनुरुप नै मस्यौदा तयार पारिएको सहायक प्रवक्ता उप्रेतीले बताए । यतिमात्र नभई कामदारको हकहितका विषयमा आवश्यकता अनुसार दुवै देशको संयुक्त बैठक (ज्वाइन्ट कमिटी) बसेर थप छलफल गरिने सम्झौताको मस्यौदामा समावेश गरिएको उनले बताए । सरकारले नयाँ गन्तव्य खोज्ने र सुरक्षित रोजगारीको लागि भन्दै स्पेनसँग मात्र नभई ओमान, पोर्चुगल, टर्की, लेबनान, कुवेत, कतार, ब्रुनाई, पोल्यान्डलगायतका मुलुकसँग पनि श्रम सम्झौताको गृहकार्य गरिरहेको सहायक प्रवक्ता उप्रेतीले बताए ।
पछिल्लो समय युरोपेली मुलुकमा रोजगारीको लागि जाने नेपालीको संख्या बढ्दो छ । यसअघि पनि विभिन्न माध्यमबाट थुप्रै नेपाली स्पेन पुगिसकेका छन् । स्पेनमा नेपालीहरुका लागि के–कस्ता रोजगारीका अवसर छन् भन्नेबारे मन्त्रालय जानकार नभएपनि युरोपेली गन्तव्य भएकाले सुरक्षा र मानवअधिकारका हिसाबले श्रम सम्झौताको प्रक्रिया अघि बढाउन खोजिएको बताइन्छ । युरोपमा म्यानपावर व्यवसायीमार्फत नै नेपाली कामदार पठाउने सरकारको नीति छ । सोही नीति अनुसार रोमानियासँग सरकारले सम्झौता गरेपनि व्यवसायीमार्फत नै कामदार पठाउने व्यवस्था गरेको छ भने जर्मनीमा पनि व्यवसायीले नै कामदार पठाउन पाउने गरी तयार गरिएको कार्यविधि कार्यान्वयनमा आइसकेको छैन ।