बेरुत,लेबनान- हिजबुल्लाहले इजरायली सहर हाइफा नजिकैको नौसैनिक अड्डालाई लक्षित गरी २४ घण्टाभन्दा कम समयमा दोस्रो पटक आक्रमण गरेको दावी गरेको छ। इरान समर्थित उक्त लेबनानी समूहले इजरायलले गरेको आक्रमण र नरसंहारको जवाफमा हाइफाको उत्तरपश्चिममा रहेको ‘स्टेला मारिस’ नौसेना अड्डालाई लक्षित गरी छोटो समयमा दुई आक्रमण गरेको जनाएको छ ।
बयानमा, हिजबुल्लाहले हाइफाको दक्षिणपूर्वमा रहेको रामत डेभिड एयरबेसलाई पनि मिसाइलले निशाना बनाएको दाबी गरेको छ । इजरायल लेबनानको हिजबुल्लाहसँग सेप्टेम्बरको अन्त्यदेखि कडा युद्धमा उत्रिदै गाजा पट्टीमा हमाससँगको लडँइमा उत्तरी सीमा सुरक्षित गर्नमा तल्लिन छ । इजरायलले उक्त क्षेत्रमा हवाई आक्रमणलाई बढाउँदै देशको दक्षिणमा सेना तैनाथ गरेको छ ।
गाजामा इजरायलसँग लडिरहेका हमास प्यालेस्टिनी लडाकुहरूको समर्थनमा काम गरिरहेका हिजबुल्लाहसँगको सीमापार द्वन्द्व सुरु भएको एक वर्षपछि इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई सुरक्षा दिन थालेको हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि लेबनानमा भएको युद्धमा दुई हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।