सुदूरपूर्वी जिल्ला ताप्लेजुङको प्रमुख तीर्थस्थल मुकुम्लुङ आदिवासी लिम्बू समुदायको आस्थाको केन्द्र रहेकोमा दुईमत छैन । अझै पनि कतिपय लिम्बूहरू आफ्ना सन्तानलाई आशीर्वाद दिँदा ‘मुकुम्लुङजस्तै शीर उचोस होस्’ भन्छन् । यसले पनि आदिवासी लिम्बू समुदायको मुकुम्लुङसँगको आस्था प्रस्ट झल्किन्छ । तर, हिन्दूहरुले पाथीभरादेवीको रुपमै पुज्दै आएका छन् । लिम्बू अगुवाहरू भने मुकुम्लुङलाई पछि हिन्दूकृत गर्दै पाथीभरादेवी भनिएको बताउँछन् । पाथीभराकै नामबाट हाल मुकुम्लुङ चर्चित छ ।
यसपछि आदिवासी लिम्बू जातिका देशदेशावरमा रहेका बुद्धिजीवि युवाहरूले ‘लिम्बुवान स्प्रिङ’ आन्दोलन चलाए । यसको एउटै मक्सद भनेको मुकुम्लुङ नाम पुनःस्थापित गर्ने । जुन संघर्ष अझै जारी छ । यहीबेला एक जना व्यवसायीलाई पोस्ने गरी मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न शुक्रबार बल प्रयोग गरेरै शिलान्यास गरिएको छ । आदिवासी जनजातिको धार्मिक तथा सांस्कृतिकस्थलमा कुनै पूर्वाधार निर्माण गर्नुपरे स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी कायम गर्नुपर्नेमा त्यसो नगर्दा आन्दोलित आदिवासी लिम्बू युवाहरू प्रतिरोधमा उत्रिए र झडपको स्थिति सिर्जना भयो । झडपमा केही घाइते भएका छन् । यो अत्यन्त दुःखद् घटना हो ।
आदिवासी लिम्बू जातिको क्षेत्रमा उनीहरूसँग स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी कायम नगरी बलजफ्ती केवलकार निर्माण कार्य अघि बढाउनु नेपालसमेत पक्ष राष्ट्र भएको आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रविरुद्ध हुने देखिन्छ । यो आदिवासीमैत्री विकासको अवधारणाविरुद्धको कदम हो । जुन रोकिनुपर्दछ । त्यसो गरिए सम्भावित द्वन्द्व टर्छ । होइन भने द्वन्द्व थप बढ्ने निश्चित छ ।
द्वन्द्वको विजारोपण सरकारबाटै भएको छ । स्थानीय सरकार पनि व्यवसायीको प्रभावमा परेको प्रस्ट देखिन्छ जुन राम्रो होइन । स्थानीयको विरोध हुँदाहुँदै जबरजस्ती केबलकार निर्माण कार्य अगाडि बढाइनुमा द्वन्द्व बढाउने नियत देखिन्छ । फेरि, केवलकार निर्माणले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को मर्मविरुद्ध पनि प्रहार गर्छ । किनभने मुकुम्लुङ क्षेत्रमा धार्मिक पर्यटन उद्योगसँग जोडिएका कम्तीमा ५०० श्रमिकले रोजीरोटी गुमाउने छन् । उनीहरू मुकुम्लुङको फेदीबाट मुकुम्लुङसम्मै हिँड्न नसक्ने तीर्थालुलाई बोकेर पुर्याउँछन् । तीर्थालुको तौलअनुसार ज्याला लिन्छन् । यसरी गर्जो टाने आदिवासी लिम्बूसहित स्थानीय समुदायका मानिसहरू छन् । केवलकार निर्माणले उनीहरूको रोजगारी गुम्ने छ । सुकेटारदेखि माथि फेदी आसपाससम्मकै व्यापार चौपट हुने छ, जहाँ आदिवासी लिम्बूसँगै अन्य स्थानीय समुदाय नराम्ररी प्रभावित हुने छन् ।
स्थानीयको विरोधलाई ‘विकास विरोधी’ मात्रै ठान्नु यहाँ ठूलो गल्ती देखिन्छ । स्थानीयको सहमतिविनाको विकासले विनासमात्र निम्त्याउँछ । त्यसैले मुकुम्लुङ (पाथीभरा)मा केबलकार योजना बल प्रयोग गरेरै अगाडि बढाउने कार्य तत्काल बन्द गरिनुपर्छ । धार्मिक द्वन्द्व र जनधनको क्षति हुने अवस्था आउन नदिन सरोकारवाला सबैपक्ष जिम्मेवार र सचेत बन्न जरुरी छ ।