काठमाडौं - कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याउँदै छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाडौं ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए
उनले भने, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।” यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि अधिकारी पक्राउ परेको पुष्टि गरेकाे छ ।यसैगरी नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।