बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेताहरू विश्वव्यापी सहकार्यका लागि नोभेम्बर २२ सम्म बाकुमा भेला भई जलवायु संकटको सामनामा केन्द्रित रहने कार्यतालिका छ ।
देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृंखलामा थप उदारलगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित–अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसंघले यसअघि नै चेतावनी दिइसकेको छ । सबैभन्दा पहिलो त हाम्रो स्वास्थ्य जुन न त किनेर किन्न सकिन्छ न त सापटी नै । त्यसैले स्वास्थ्य जीवनकै लागि जलवायु परिवर्तनसम्बन्धी प्रतिकार्य अबको आवश्यकता हो ।
विश्वव्यापी बढ्दो तापमान होस् या सोच्नै नसकिने गरी अति वर्षा र बाढीपहिरो । यी सबै जलवायु परिवर्तनका असर हुन् । नेपाल जलवायु परिवर्तनको असरबाट प्रताडित राष्ट्र हो । जलवायु परिवर्तनकोे प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक रहेकाले कोप–२९ को मुख्य ध्यानाकर्षण आर्थिक मामलामा हुने तथा देशहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने एजेण्डालाई जोडदारका साथ उठाउनुपर्छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ ।
एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ । जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू पूरा गर्न सन् २०२५ सम्ममा प्रतिवर्ष १० खर्ब अमेरिकी डलर तथा सन् २०३० सम्ममा २४ खर्ब अमेरिकी डलर चाहिन्छ ।
कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो । ‘युएनइपी उत्सर्जन ग्याप रिपोर्ट २०२४’ का अनुसार तापक्रम क्रमशः दुई डिग्री सेल्सियस तथा १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने र सन् २०३० सम्म वार्षिक उत्सर्जन ५.५ प्रतिशत र नौ प्रतिशतले घटाउनुपर्ने छ ।
कोप–२९ का विषयवस्तुहरूले वित्त, ऊर्जा संक्रमण, मानव पुँजी, जैविक विविधता, खाद्य सुरक्षालगायत जलवायुका पक्षहरूलाई सम्बोधन गर्नुपर्ने देखिन्छ । प्रमुख लक्ष्यहरूमा नयाँ विश्वव्यापी जलवायु वित्त लक्ष्य स्थापना, अनुकूलन उपायहरू मापन गर्ने र १.५ डिग्री सेल्सियस लक्ष्यसँग प्रतिबद्धताहरू प्राप्त गर्ने विषयमा नेपालले पनि जोडतोडले आवाज उठाओस् । जलवायुमाथिको हस्तक्षेप रोक्न सार्थक बनोस् कोप–२९ ।