हस्याङफस्याङ गर्दै चन्द्रबहादुर भर्याङतिर दौडँदै थियो । होचो कदको चन्द्रबहादुर दौडन खुब सिपालु । चन्द्रबहादुरको दौडाइले गर्दा सबै उसैतिर ध्यान दिइरहेका थिए । पक्कै पनि केही न कही गढबढ भएको छ । वरपरकाले नजरअन्दाज गर्दै थिए । वल्लो कोठा र पल्लो कोठा गर्दै उसका दिन बित्थे । मानौं ऊ जत्तिको बेफुर्सदी मान्छे छैन । ऊ धेरै विषयमा भित्रभित्रै विषालु ।
‘मुखमा रामराम, बगलीमा छुरा’ चन्द्रबहादुरको विशेषता नै थियो । ऊसँग संगत गर्नु भनेको सर्पलाई दूध खुवाएर पाल्नुजस्तै हो भन्दै थिए केशव काका । ५५ वर्षे छिप्पिसकेका केशव काका सत्य बोल्थे, कसैसँग डराउँदैनथे ।हिमालमा हिउँ टल्केजस्तो उनको शिरमा कपाल चाँदीको घेरा हालेर टल्किरहेको थियो । ढाँट्ने छल्ने भए पहिल्यै गरिन्थ्यो होला नयाँबानेश्वरमा भर्खरै बनेको नयाँ फल्चामा थचक्क बस्दै केशव काकाले भाका हाले । ‘बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल नबिक्ने’ सहर हो यो । ‘झूठको भर, सत्यको डर’ धेरै भएको बनावटी झकिझकाउ मान्छे बेच्नेको सहरमा को सत्य पाइएला र ? काकाले पसिना पुछ्दै भने ।
काकाको कुरा सायद उही सिंहदरबारभित्रको कार्यालयबाट लखरलखर हिँड्दै फल्चासम्म पुगेका झविन्द्रले बुझ्न सकेनन् । विचरा, बुझुन् पनि कसरी ? काकाको शब्दवाण नै कता गएर ठोक्किने हो थाहा नै नहुने । जे होस् झविन्द्र बुझेजस्तो त गर्थे तर बुझ्न निकै कठिन थियो । तैपनि सोधे ।‘काका, तपाईंले किन चन्द्रबहादुरलाई दूध खुवाएर सर्प पालेजस्तै हो भन्नुभएको ?’ काकाले झविन्द्रलाई भने, ‘सर्पलाई दूध खुवाएर पाल्दा के दिन्छ ?’ झविन्द्र अलमल्ल पर्यो । सर्पलाई पनि दूध ख्वाएर पालिन्छ र काका ? सर्प त विषालु पो हुन्छ त कसले पाल्ला र सर्प ? निकै दयालु पारामा काकासँग जिज्ञासा राख्यो । काका मुसुक्क हाँस्दै झविन्द्रलाई सम्झाउने प्रयास गर्थे । ‘हेर झविन्द्र, कुरो के हो भने जसरी सर्पलाई दूध खुवाएर पाल्दा पनि विषालु हुन्छ आजका मान्छे पनि त्यस्तै हुन् । त्यही भएर मैले चन्द्रबहादुरको उदाहरण मात्र दिएको हुँ ।’
‘ल तँ आफैं भन त, तैँले त्यो चन्द्रबहादुरलाई कत्ति सहयोग गरेको छस् । तर त्यसले तँलाई पाइलापाइलामा झूठको खेती गरिरहेको छ भने त्यो सर्पलाई दूध खुवाएर पालेजस्तो भएन ?’ तर, मैले त्यस्तो उसलाई कहिल्यै सोचिन, हजुरले कसरी सोच्नुभो काका ? ‘त्यही र त म काका भएँ नि । उमेर अनुभव सबै कुराले जसरी मेरो कपाल फुलिसक्यो त्यसैगरी म पनि फुलिसकेको छु । को कस्तो हो भन्ने कुरा अब इसारामा नै काफी छ नि ।’
‘चन्द्रबहादुर आज जुन अवस्थामा हस्याङफस्याङ गर्दै दौडिरहेको थियो । त्यो दिन आउँछ भनेर उसले कहिल्यै पनि सोचेन । सधैं शक्तिको वरपर मात्र मेरो बास हुन्छ भन्ने सोच्यो । अप्ठेरो पर्दा फेरि उही नजिकको साथी खोज्नेबाहेक अरू के भयो ?’ ‘त्यो त हो काका,’ झविन्द्रले बुझेजस्तै गरी भन्यो । पहिलेपहिले भेँडाबाख्रा बेचिन्थे । अहिले मान्छे बेचिन थालिएको छ । त्यो पनि देश हाँक्ने नेताबाट । यो वा त्यो नाममा मान्छे बेच्नेहरुबाट के अपेक्षा राख्नु ? काकाले झविन्द्रलाई भन्दै थिए । नयाँ बानेश्वरको नयाँ फल्चामा अरू यात्रु पनि थकाइ मार्न बसेका थिए । केशव काकाले झविन्द्रलाई भन्दै गरेको सुनेर एक यात्रुले फ्याट्टै भनिहाले, ‘चोरहरुले राज गरेका छन्, सत्तामा ब्वाँसाहरु पुगेका छन्, संसद्मा हेर्यो उडन्ते, फिरन्ते, नातेदार, फरियादारहरुले कब्जा जमाएका छन् । अनि किन नहोस् त ? अरू बेच्ने चीज नै नभएपछि मान्छे नै बेच्ने त हुन् नि यिनले !’
झविन्द्र अलि अलमलियो । सिंहदरबारभित्र जागिर खान थालेको पनि चार–पाँच वर्ष नै बित्न लागिसक्यो तर ऊ मौन बस्नु वा बोल्नु हुन्न भन्ने विचारले प्रेरित थियो । तर, काका ड्याङ कि ड्याङ भन्थे । त्यही भएर पनि होला केशव काकाले कहिल्यै राम्रा अवसर पाएनन् । झविन्द्र पनि नबोल्ने, बोल्दा कसैले चित्त दुखाउँला भन्ने सोचले मनमा राखिरहने । अरूको नराम्रो कहिल्यै नसोच्ने भएकोले होला चन्द्रबहादुरहरुले निकै नै प्रयोग गरेका थिए । ऊ प्रयोग भइरहेको थियो । आज बल्ल मान्छे बेच्ने नेताको फेला परेको थियो चन्द्रबहादुर । चन्द्रबहादुरले अरूलाई बेवकुफ बनाउँदा बनाउँदै मान्छे बेच्ने नेताले चन्द्रबहादुरलाई नै हस्याङफस्याङ गर्ने अवस्था बनाइदिएकाले केशव काका आज दिल खोलेर फल्चामा सर्पलाई दूध खुवाएर पाल्न हुन्न है भन्दै छन् । काका मनमा राख्न नसक्ने । फल्चामा बसेकाहरुलाई पनि भ्याइहाले । ‘ल तपाईं वा तपाईंका परिवारका सदस्यहरु पनि बेचिनसक्छ है । आखिर हामीले मान्छे बेच्ने नेताहरु जन्माएका रहेछौं । पहिलेकाले नदीनाला बेचे । सिमाना बेचे । अहिलेकाले मान्छे बेचिरहेका छन् ।’
फल्चामा अघिदेखि काका र झविन्द्रको वार्तालाप सुनेर बसिरहेका यसो हेर्दा झुत्रे देखिने व्यक्तिले काकालाई धाप हाने । ‘ल हेर यो मान्छेले अहिलेसम्म आफ्नो विचारलाई मर्न दिएको रहेन छ । ऊ बेला पनि सत्यको जित हुन्छ भन्थ्यो अहिलेसम्म पनि सत्यका लागि लडिरहेको रहेछ ।’उसको कुरा सुनेर केशव काका तीनछक्क परे । आफूलाई यसरी नियालिरहेको मान्छे उनले चिन्न सकेनन् । र सोधे, कसरी मेरो सत्यको मार्ग थाहा पाउनुभो ? ती व्यक्तिले काकालाई भने, ‘म चिन्छु नि । धेरै वर्ष पहिले देशबाट श्रमका लागि मान्छे विदेश पठाउनुहुन्न भन्ने केशव तपाईं नै होइन र ? तपाईंकै कुरा सुनेर म यो देशमै छु । तर, आज हामीले प्रजातन्त्र हुँदै गणतन्त्रसम्म छानेका नेताहरु त मान्छे बेच्नेमात्र परे छन् ।’
दुवैले मुखामुख गरे । देखे देखेको जस्तो, चिने चिनेको जस्तो गरे । पञ्चायतकालमा युवापुस्ता पलायन होला भन्ने डरले राहदानी बनाउन पनि सरकारले निकै कडाइ गरेको ती व्यक्तिले केशवलाई भने । तर, अहिले विद्यार्थीका नाममा, श्रमिकका नाममा, पर्यटकका नाममा, गोष्ठी सेमिनारका नाममा पनि नेताहरुले मान्छे बेच्न थाले । एमालेका नेताले मान्छे बेच्ने, माओवादीका नेताले मान्छे बेच्ने, कांग्रेसका नेताले मान्छे बेच्ने, मधेसका नेताले मान्छे बेच्ने, नयाँ भनाउँदाहरुले मान्छे बेच्ने ! प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले जन्माएको भनेकै मान्छे बेच्ने नेता हो । हामीले जितायौं, चिनायौं सत्ता र शक्तिमा पुर्यायौं । देश बनाउने नेता होइन, मान्छे बेच्ने नेता बनायौं । ती व्यक्तिले एकोहोरो काकालाई सुनाए अनि जुरुक्क उठेर नयाँबानेश्वरतिर लागे । अरू त हेरेको हेर्यै भए ।