काठमाडौँ - शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।
हिमाल आरोहणबापत रु छ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उनले बताए ।
निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उहाँले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएकोे बताए ।
विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।