काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँग भएको श्रम सम्झौता नवीकरण गर्ने क्रममा नेपाली कामदारले पाउने सेवासुविधा वापतको ‘कर्मचारी सञ्चय कोष’ सुविधा थप्ने गरी तयारी गरेको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सन् २०२५ को वार्षिक बजेट प्रस्तुत गर्दै आप्रवासी कामदारलाई कर्मचारी सञ्चय कोष (ईपीएफ) मा अनिवार्य योगदान गराउने घोषणा गरेसँगै मन्त्रालयले उक्त तयारी गरेको जनाएको छ ।
मलेसिया सरकारको नीतिअनुसार नै नेपालले पनि ईपीएफको विषय श्रम सम्झौता नवीकरण गर्दा थप गर्न लागिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार मलेसिया सरकारले आप्रवासी कामदारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उचित व्यवहार, तलब र कर्मचारी सञ्चय कोषको सुविधा दिने प्रतिबद्धता जनाएको छ । ‘अब श्रम सम्झौता नवीकरण गर्दा कर्मचारी सञ्चय कोषको व्यवस्था हुने बुँदा पनि थपिने छ,’ उनले भने, ‘मलेसियाले ईपीएफ अनिवार्य लागू गर्ने भएको छ, आगामी वर्षदेखि यो लागू हुन्छ भनिएको छ ।’
मलेसिया सरकारले विदेशी कामदारलाई कर्मचारी सञ्चय कोषमा अनिवार्य योगदान गराउने नीति अघि सरेको छ । मलेसियाको पछिल्लो निर्णयले २२ लाखभन्दा बढी विदेशी कामदार यसबाट लाभान्वित हुने बताइएको छ । यो सुविधा लागू भएपश्चात करिब पाँच लाख नेपाली कामदारले लाभ लिन सक्ने मन्त्रालयले अनुमान गरेको छ । मलेसियाले यसअछि नै विदेशी कामदारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीति लागू गरिसकेको बताइन्छ ।
सरकारले मलेसियासँग छिटै श्रम सम्झौता नवीकरण गर्ने बताए पनि मिति तय हुन सकेको छैन । यसका लागि मलेसियाको सम्बन्धित निकायसँग छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ । श्रम सम्झौता नवीकरणका लागि यसअघि भएका केही बुँदाहरुमा संशोधन र केही बुँदा थप गर्नुपर्ने देखिएकोले सोही अनुरुप ड्राफ्ट तयार पारी मलेसियालाई पठाइएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मलेसिया सरकारले बजेट भाषणमार्फत कामदारको मासिक पारिश्रमिक १५ सय रिंगेटबाट बढाएर १७ सय रिंगेट पु¥याएको छ । यसले पनि मलेसियामा काम गर्न जाने आप्रवासी श्रमिकको आकर्षण बढ्ने देखिएको छ । यो सँगै विदेशी कामदारका लागि ईपीएफ अनिवार्य गराउने मलेसियाको निर्णयपछि त्यहाँका विभिन्न अधिकारवादी संघसंस्थाहरुले स्वागत गरेका छन् । उनीहरुले यो नीतिको प्रभावकारी कार्यान्वयन र पारदर्शिताका लागि बलियो अनुगमनको लागि सरकारसँग माग गरेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।