काठमाडौं- साउदी अरेबियास्थित नेपाली राजदूतावासले वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली कामदारलाई अमर्यादित पहिरन लगाउने र तडकभडक हुने गतिविधि नगर्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै साउदीमा कार्यरत नेपाली कामदारले सुनको सिक्री, ब्रास्लेट र छोटाखाले पाइन्ट लगाएर हिँडदा जरिवानामा परेको भन्दै त्यहाँको सार्वजनिक मर्यादा र शिष्टाचार तथा नैतिकता प्रतिकुल हुने कार्य नगर्न सचेत गराएको छ ।
सार्वजनिक स्थानमा तडकभडक देखाएर हिड्ने नेपाली नागरिक जरिवानामा पर्ने गरेको सूचना प्राप्त भएको भन्दै दूतावासले साउदीमा स्वदेशी तथा विदेशी सबै नागरिकले सामान्य शिष्टता उल्लंघन गर्ने फोटो, चित्र, चिह्न वा वाक्यांशहरु भएको पोसाक लगाउन नहुने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ । कतिपय युवाले शरीरका विभिन्न भागमा अरेबियन संस्कृतिविपरीत अर्थ लाग्ने आकृतिका ट्याटुसमेत खोपेका कारण कानुनी फन्दामा पर्ने गरेको दूतावासले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली युवाले सार्वजनिक स्थलमा जाँदा नेपालमा जस्तै आफूखुसी पहिरन लगाउने, असभ्य व्यवहार र अनुशासनहीन गतिविधि देखाउने गर्दा कानुनी फन्दामा पर्ने गरेको साउदीस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले बताए ।
उनका अनुसार साउदीमा सार्वजनिक मर्यादा र शिष्टाचार विपरीत पहिरन तथा आचरण प्रदर्शन गर्नेहरुमाथि पाँच हजार रियालसम्म जरिवाना र अन्य थप सजाय हुनसक्ने व्यवस्था छ । यद्यपि साउदीमा महिलालाई घुँडा र काँध देखिने पहिरन र जीन्स लगाउन प्रतिबन्ध नै छ ।