काठमाडौं - गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्यांककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिए।
“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस स¥यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना संकलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनाैँ”, उनले भने, “यदि उक्त भाइरस संक्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले संक्रमित होइन भनेर पुष्टि गराैँ ।”
गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना संकलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना संकलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए ।
सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना संकलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना संकलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए । काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ ।
सन् २०१० यता मुलुकमा पोलियो संक्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो संक्रामक रोग हो । पोलियो संक्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने लगायत लक्षण देखिन्छन् ।