- साहित्यकार, पत्रकार, मानवअधिकारवादी, अधिवक्तादेखि सभामुख बनेका दमननाथ ढुंगाना पछिल्लोकालसम्मै सक्रिय थिए
- पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, पार्टीका शीर्ष नेताहरुद्वारा शोक व्यक्त
- ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं– पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा ढुंगानाको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुंगानाका स्वकीय डा. रुद्र शर्माले जानकारी दिए । ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । वि.सं. २०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित ढुंगाना २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।
ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुंगानाको अन्त्येष्टि आज (सोमबार) गरिने स्वकीय शर्माले जानकारी दिए । कान्छा छोरा निमेष बेलायतमा रहेकोले आजमात्र उनको अन्तिम दाहसंस्कार गरिने भएको हो । सभामुख देवराज घिमिरेले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । यसबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्दै छ ।
शीर्ष नेताहरुद्धारा शोक व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत पौडेलले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ‘वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
सभामुख घिमिरेले ढुंगानाको निधनले दुःखी बनाएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा, संसदीय अभ्यासका ज्ञाता र शान्ति प्रक्रियामा महŒवपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनपछि भएको पहिलो आमनिर्वाचनबाट सभामुख निर्वाचित हुनुभएका ढुंगानाले नेपालको संसदीय अभ्यासलाई संस्थागत गर्न महत्वपूर्ण योगदान दिनुभएको छ,’ सभामुख घिमिरेले विज्ञप्तिमार्फत भनेका छन् ।
ढुंगानाले मानवअधिकारको रक्षा तथा संवद्र्धनका साथै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सन्तुलित एवं ऐतिहासिक भूमिका निर्वाह गरेकोसमेत घिमिरेले स्मरण गरेका छन् । ‘उहाँको निधनबाट हामीले एक प्रेरणादायी व्यक्तित्व र नेपालको संसदले अनुभवी अभिभावक गुमाएको छ,’ सभामुख घिमिरेले भनेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरे । पुरानो बानेश्वरस्थित फ्रान्ट लाइन अस्पतालमा निधन भएका ढुंगानाको शवलाई शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विद्यार्थी जीवनको साथी गुमाएको बताएका छन् । ‘विद्यार्थी जीवनदेखिकै मेरा एक पुराना साथी एवं पूर्वसभामुख ढुंगानाको निधनको खबरले मलाई स्तब्ध र दुखित बनाएको छ । लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको महŒवपूर्ण योगदान थियो,’ शोक वक्तव्यमा सभापति देउवाले भनेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक आन्दोलनका अगुवा ढुंगानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा दिएको योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसभामुख ढुंगानाको निधन भएकामा दुःख व्यक्त गरेका छन् । ‘वि.सं. २०४७ को संविधान सुझाव आयोगका सदस्य तथा २०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख तथा मेरा मित्र दमननाथ ढुंगानाको निधन भएको खबरले म अत्यन्त दुःखी छु,’ अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वसभामुख ढुंगानाले संविधान सुझाव आयोगको सदस्यका रूपमा संविधान निर्माणमा सँगै भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रजातन्त्र स्थापना, मानवअधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिका तथा नेपालको संसदीय अभ्यासलाई सबल बनाउन दिएको योगदानको अध्यक्ष नेपालले स्मरण गरेका छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘समकालीन नेपालका एक विशिष्ठ बौद्धिक तथा राजनीतिक व्यक्तिŒव र हाम्रा आत्मीय अग्रज मित्र दमननाथ ढुंगानाको आकस्मिक देहान्तको खबरले स्तब्ध छु,’ भट्टराईले भनेका छन्, ‘नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानवअधिकार संरक्षण र विशेषतः शान्तिप्रक्रियामा उहाँले पुर्याउनुभएको योगदान हामीले सदैव सम्मानपूर्वक सम्झिरहनेछौं ।’
पूृर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमार्फत ढुंगानाको निधनमा दुःख व्यक्त गरेकी छन् । ‘ढुंगानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि हामी उहाँलाई सदा सम्झिरहनेछौं,’ भण्डारीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।
को हुन् ढुंगाना ?
नेपालको प्रजातान्त्रिक आन्दोलनमा दमननाथ ढुंगानाको योगदान अमूल्य रहेको उनीनिकट पत्रकार किशोर नेपाल बताउँछन् । बिपी कोइराला, गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईसँगै जेलनेल परेका व्यक्ति भएको नेपाल बताउँछन् । ‘उहाँ राजनीतिमा बिपी, गणेशमान र किसुनजीसँगैको लहरमा देखिनुहुन्थ्यो,’ नेपालले भने ।वि.सं. १९९८ मा जन्मेका ढुंगाना २०१७ साल पुस १ गते राजाबाट प्रजातान्त्रिक व्यवस्थामा ‘कू’ भएपछि यसविरुद्ध विद्रोह गर्नुपर्छ भन्दै त्रिभुवन विश्वविद्यालयमा अध्ययनसँगै विद्यार्थी राजनीतिमा जोडिए । २०२० सालमा नेपाल विद्यार्थी संगठनको उपाध्यक्ष निर्वाचित भए । पछि अध्यक्ष बने उक्त संगठनको । पछि नेविसंघ गठन भएपछि उनी अधिवक्ता बनेका थिए ।
कानुनको पढाइ, विद्यार्थी आन्दोलनसँगै पत्रकारिता, शिक्षणमा पनि जोडिए । २०४६ को जनआन्दोलनमा उनी कांग्रेसको प्रवक्ताको भूमिका थिए । वरिष्ठ अधिवक्ता बनिसकेका ढुंगानाले २०४७ सालको संविधान निर्माणको भूमिका निभाएका थिए । सभामुख भए । उनी भन्ने गर्थे– सत्ता सरकारको हो, संसद् प्रतिपक्षको ।
कांग्रेसबाट सभामुख भएका उनले सदनमा विपक्षीलाई पनि प्रशस्त समय दिन्थे । यसलाई कांग्रेस नेताहरुले भने सहजरुपमा नलिएको त्यतिबेला एमालेबाट सांसद रहेका विरोध खतिवडा बताउँछन् । ‘प्रतिपक्षलाई सदनमा बढी भूमिका दिनुहुन्थ्यो । असाध्यै राम्रो शैली थियो, सदन प्रतिपक्षको, सत्ता सरकारको हो भनेर सम्झाउनुहुन्थ्यो,’ खतिवडाले भने ।
ढुंगाना राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परे । मानवअधिकारीवादी, साहित्यकार, पत्रकार र वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना केही समय भने राजनीतिबाट अलग बसेका थिए । २०५१ मा एमाले उम्मेदवार विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना राजनीतिमा सेलाएका थिए । यद्यपि, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । एमाले नेता महेश बस्नेतसँग ढुंगाना पराजित भएका थिए ।कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताका रुपमासमेत ढुंगानाको सक्रिय भूमिका रहेको थियो । त्यसपछि उनलाई कांग्रेस नेताहरुले कम्युनिस्ट धारतिर ढल्केको आरोपसमेत लगाएका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले गुमनाम आमाहरु किताबमा ‘जब दमननाथ ढुंगानाहरु माओवादी बन्छन्’ भनी लेखसमेत लेखेका थिए । यद्यपि, कांग्रेसले २०८० असोजमा गराएको संविधानबारेको छलफलमा भने ढुंगानाले माओवादीको विरोध गरेका थिए । ‘मलाई संविधानसभामा पस्न दिएनन् । त्यसैले यो संविधान माओवादीलाई चित्त बुझाउन बनाइएको हो । एकजना दमननाथ भएको भए संविधान नै उलटपुलट हुन्थ्यो,’ ढुंगानाले भनेका थिए, ‘यो संविधानमा कांग्रेस कतै भेटिँदैन । बिपी त के भेटिन्थ्यो र !’