काठमाडौं- रुसमा श्रम इजाजतविना काम गर्ने नेपाली विद्यार्थीहरुलाई देश निकाला गर्ने आदेश भएको छ । त्यहाँको एक अदालतले श्रम इजाजतविना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको हो । अध्ययनका लागि रुस पुगेका विद्यार्थीहरु विश्वविद्यालयको सहमति र श्रम इजाजतविना काम गरिरहेको अवस्थामा त्यहाँका अध्यागमन अधिकारीहरूले मस्कोको कुजमिन्कीस्थित वान एक्स बेट नामक जुवा खेलाउने कम्पनीबाट पक्राउ गरेको बताइएको छ ।
विद्यार्थीहरूले विश्वविद्यालयबाट पढिरहेको प्रमाणपत्र र कामका लागि आवश्यक करारपत्र प्रस्तुत गर्न नसकेकाले अदालतले डिपोर्ट गर्ने फैसला गरेको गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष केशव तिमल्सिनाले बताए । उनका अनुसार देश निकालाको आदेश पाएका विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा रहेको रवाहस्थित एक डिपोर्टेसन सेन्टरमा राखिएको छ ।
श्रम इजाजत र कम्पनीसँगको करारपत्र नभएका कारण उनीहरुलाई रोक्ने कुनै उपाय नरहेको भन्दै डिपोर्ट गर्ने तयारी भइरहेको बताइएको छ । अदालतले श्रम नियम उल्लंघन गरेको ठहर गरेसँगै डिपोर्ट हुने विद्यार्थीले अब पाँच वर्ष रुपमा प्रवेश गर्न नपाउने व्यवस्था छ । यसअघि पनि १५ जना नेपाली विद्यार्थीलाई श्रम नियम उल्लंघन गरेको आरोपमा जेलमा राखेर नेपाल डिपोर्ट गरिएको तिमल्सिनाले बताए ।