चितवन - भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो ।
कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो । दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिए ।
मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिदैँ आइएको थियो । प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो । त्यसपछि वार्षिक सात सयभन्दा बढि नमूना परीक्षण गर्दै आएको थियो ।
परीक्षणका आधारमा विषादी युक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो । कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमााडौँ पठाइएको छ । उनले भने, “मर्मत भइसकेको छ । हप्ता दश दिनमा यहाँ आइसक्छ । अनि तत्काल काम सुरु हुन्छ ।”