काठमाडौं - गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका छन् । दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको हाे ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकाे आयोजना प्रमुख डा.रविन कडरिया बताएका हुन् । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।
गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको रहेको छ । असोजयता पर्यटकको आवगमन बढेको उनको भनाइ छ । असोजमा ३० हजार सात सय ३२ विदेशी पर्यटक त्यहाँ भ्रमणका लागि पुगेका थिए । एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटकहरू थिए ।
एक्यापका अनुसार अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा यसवर्ष बढेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको छ । सडक र हवाई मार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटककहरू अन्नपूर्ण संरक्षण क्षेत्रको विभिन्न गन्तव्यस्थल पुग्ने गरेका छन् ।
थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको छ । दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्म यस वर्षको पर्यटन क्षेत्रमा पर्यटकहरूकाे आवगमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको छ ।