काठमाडौं – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार चौथो जित निकालेको हो । सातदोबाटोको जितमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ । यस अघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई हराएको थियो । पुल्चोकको यो लगातार चौथो हार हो । लिगको पुछारमा रहेको पुल्चोकले अंक जोड्न सकेको छैन ।
त्यसैगरी मंगलबार नै सम्पन्न अर्काे खेलमा बाँसबारी क्लबले रानी पोखरी कर्नर टिम आरसिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै बाँसबारी दोस्रो स्थानमा उक्लिएको हो ।
बाँसबारीको जितमा अमृत गुरुङ र सजिन थापा मगरले एक–एक गोल गरे । आरसिटीका लागि सिशस थापाले सान्त्वना गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने आरसिटीले बनाएको थियो । खेलको २४ औं मिनेटमा मिनेटमा सिशसले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बाँसबारीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ५१ औं अमृतले डिबक्स भित्रबाट गोल गर्दै बाँसबारीलाई खेलमा फर्काए । त्यसपछि खेलको ७६ औं मिनेटमा सजिनले डिबक्स भित्रबाट २ डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गरेर बाँसबारीलाई २–१ को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा सुरेश कुमालले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो । जितसँगै बाँसबारीले ४ खेलमा ११ अंक जोडेको छ । आरसिटीले ४ खेलमा २ अंक जोडेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।