काठमाडौं– इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले नेपालमा रेमिट्यान्स (पैसा) पठाउँदा वैधानिक माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । इजरायलका विभिन्न सहरमा काम गरिरहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउँदा वैधानिक तवरबाट पठाउन आग्रह गरेको हो ।
दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपालमा पैसा पठाउन वैधानिक माध्यम हुँदाहुँदै गैरकानुनी तवरबाट पठाउने गरेको पाइएको भन्दै चिन्तासमेत प्रकट गरेको छ । दूतावासले अवैधरुपमा हुने हुण्डी, ढुकुटी, सापटीलगायतका तरिकाहरु अत्यधिक प्रयोग गरी नेपालमा पैसा पठाउने गरेको पाइएको उल्लेख गरेको छ । अवैध कारोबारबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरुमा दूतावासमा नियमितजस्तो गुनासा आइरहेको भन्दै दूतावासले कुनै पनि बिचौलियाको मिठो बोली र क्षणिक विश्वासमा नपर्नसमेत सचेत गराएको छ ।
‘इजरायलमा विभिन्न रोजगार गरी बस्नुभएका नेपाली समुदायलाई आफ्नो परिश्रमको कमाई उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाई विभिन्न खाले जोखिमहरुबाट टाढा रहन सबै प्रवासी नेपालीहरुमा यस राजदूतावास विशेष अनुरोध गर्दछ,’ दूतावासले भनेको छ ।