- सीमा क्षेत्रमा आगलागी र पानीजन्य प्रकोपको व्यवस्थापन तथा खोज उद्धारका लागि दुवै पक्षले संयुक्त रुपमा काम गर्ने सहमति
- सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष
- दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा संयुक्त हस्ताक्षर
काठमाडौं– सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निर्णयसहित नेपाल–भारत सीमा सुरक्षा बैठक सोमबार सकिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग दुई दिनसम्म सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण र रोकथामबारे छलफल गरेर भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख अमृतमोहन प्रसाद सोमबार भारत फर्किएका छन् । सीमा सुरक्षामा खटिँदै आएका दुई देशको सुरक्षा संगठन प्रमुखबीच भएको छलफल र समझदारीलाई सीमापार अपराध नियन्त्रणको क्षेत्रमा अर्थपूर्णरूपमा हेरिएको छ । किनभने वर्षौंदेखि दुवै देशले झेलेको सीमापार अपराध प्रमुख समस्या हो ।
यसबारे दुवै दलका सुरक्षा संगठन मिलेर लड्ने समझदारी भएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले प्रभावसँग भने, ‘नेपाल–भारतको सीमा खुला हुँदा भारतमा अपराध गरेर नेपालमा लुक्ने अथवा नेपालमा अपराध गरेर भारतमा लुक्ने, तेस्रो देशको नागरिक आउने, सीमा क्षेत्रबाट घुसपैठ गर्ने, मानव तस्करी हुनेजस्ता अनेकन समस्या छन्, ती समस्याहरूको सम्बोधनका लागि एकीकृत रूपमा लड्ने समझदारी भएको छ ।’थापाका अनुसार बैठकले सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ नियन्त्रण र आवागमन गर्ने नेपाल–भारतका नागरिकलाई सहजीकरण गर्न सीमा क्षेत्रमा ‘इन्फरमेसन डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । हाल नेपाल–भारत खुला सीमा एक हजार ८८० किलोमिटर छ ।
नेपाल–भारतको सीमा खुला हुँदा भारतमा अपराध गरेर नेपालमा लुक्ने अथवा नेपालमा अपराध गरेर भारतमा लुक्ने, तेस्रो देशको नागरिक आउने, सीमा क्षेत्रबाट घुसपैठ गर्ने, मानव तस्करी हुनेजस्ता अनेकन समस्या छन् । ती समस्याहरूको सम्बोधनका लागि एकीकृत रूपमा लड्ने समझदारी भएको छ ।
शैलेन्द्र थापा
प्रवक्ता, सशस्त्र प्रहरी बल
सोही खुला सीमाको आपराधिक मनोवृत्ति भएकाहरूले फाइदा उठाउँदै आएका छन् । तर, यसपटक दुई देशका सीमा सुरक्षा बलका प्रमुखबीचको छलफलपछि भारतले तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मी सीमा क्षेत्रमा खटाउन नेपालको सशस्त्र प्रहरीलाई तालिम दिने भएको छ । दुवै दलले सीमा सुरक्षालाई प्रभावकारी बनाउन ‘ज्वाइन्ट टास्क फोर्स’ गठन गर्नेबारे पनि बैठकमा छलफल भएको थियो । तर, त्यसबारे समझदारी भने भएन । हाल ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा छुट्याउने आठ हजार ५५३ सीमास्तम्भ छन् । ती सीमास्तम्भहरूको रेखदेख, संरक्षण र हराएका सीमास्तम्भ खोजीबारे पनि बैठकमा छलफल भएको जानकारी दिइएको छ ।
दुई वर्षअघिसम्म भारततर्फ सीमा कायम गर्ने दुई हजार ७१६ वटा सीमास्तम्भ गायब थियो । केही भेटिएर मर्मत गरिएको थियो । तर, अझै अधिकांशको खोजबिन हुन सकेको छैन । करिब एक हजार ६०० सीमास्तम्भ जीर्ण र करिब दुई हजार ९०० स्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेका थिए ।पछिल्लोपटक बिजोर अंकका स्तम्भ नेपाल र जोर अंक र ठूलो (जंगे) स्तम्भ भारतीय पक्षले मर्मत गर्ने सहमति भए पनि मर्मत कार्यले पूर्णता पाएको छैन । बैठकले सीमा सुरक्षालाई प्रभावकारी बनाउन र त्यसका लागि पिलर मर्मत र सुरक्षामा दुवै पक्षले सहकार्य गरेर अघि बढ्ने पनि सहमति भएको सशस्त्र प्रहरी प्रवक्ता थापाले बताए । उनले बैठकमा सीमा सुरक्षाका अतिरिक्त नेपाल–भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई संगठनले सहकार्य गर्दै आएका छन् । नेपाली सीमा सुरक्षा बल सशस्त्र झण्डै ३७ हजारको संख्यामा करिब १५ हजार जनशक्ति सीमामै खटिएका छन् ।
यस्तै, बैठकबाट ११ वटा साझा एजेण्डा अनुमोदन भएको छ । साझा एजेण्डामा दुवै पक्षबाट संयुक्त हस्ताक्षर रहेको प्रवक्ता थापाले बताए । बैठकले सीमा सुरक्षा समन्वय बैठक वर्षमा एक पटक आलोपालो हुँदै आएकोमा अबदेखि वर्षमा दुईपटक आलोपालो गर्ने सहमति पनि भएको छ । यसबाहेक तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठले निस्तेज पार्न दुवै सुरक्षा संगठन सहमत देखिएका छन् । यसअघि नेपालमा भारतीय बाटो हुँदै सयौंको संख्यामा रोहिञ्ज्या शरणार्थी आएका थिए ।एक सय दिनअघि बंगलादेशमा त्यहाँको विद्यार्थी आन्दोलनले विस्थापित भएकाहरू पनि भारतको बाटो हुँदै नेपाल आएका थिए । यसलाई दुवै देशले समस्याको रूपमा स्वीकारेका छन् । तेस्रो देशका नागरिकलाई जसरी पनि रोक्न दुवै संगठनका प्रमुख तयार भएका छन् ।
नेपालमा म्यान्मारका रोहिन्ज्याबाहेक पाकिस्तानी अहमदिया, बंगलादेश, श्रीलंकासहित विभिन्न अफ्रिकी देशका शरणार्थीहरू छन् । सरकारले भुटानी र तिब्बतीलाई शरणार्थीलाई त दर्जा नै दिइसकेको छ । यसबाहेक नेपाल र भारतबीच घरिघरी बल्झिने सीमा समस्या हो । यसलाई सम्बोधन गर्न नेपालतर्फ सशस्त्र प्रहरीका २४४ स्थानमा सीमा सुरक्षार्थ बिओपी तैनाथ छन् । भारततर्फ ४०० भन्दा बढी स्थानमा एसएसबीका युनिट छन् ।
अब भने सशस्त्र प्रहरीले भारतीय एसएसबीलाई विपद्सम्बन्धी तालिम दिने भएको छ । सीमा क्षेत्रमा आगलागी र पानीजन्य प्रकोपको व्यवस्थापन तथा खोज उद्धारका लागि दुवै पक्षले संयुक्त रुपमा काम गर्ने सहमति भएको छ । हाल भइरहेको संयुक्त सीमा गस्तीलाई बढाएर काममा प्रभावकारिता बढाउने पनि सहमति भएको छ ।