वि.सं. १७९९ चैत २५ गते तत्कालीन गोरखा राज्यका राजा नरभूपाल शाहको मृत्यु भएपछि गोरखाली राजपरम्पराअनुसार जेठा छोरा २० वर्षीय पृथ्वीनारायण शाह राजगद्दीमा बसे। त्यस समय आजको नेपालको भूभागमा काठमाडौं उपत्यबाट पश्चिमतर्फ कर्णाली प्रश्रवण क्षेत्रमा २२, गण्डकी प्रश्रवण क्षेत्रमा २४, काठमाडौं उपत्यकामा तीन (कान्तिपुर, ललितपुर र भक्तपुर), काठमाडौंबाट दक्षिणतर्फको मकवानपुर र पूर्वतर्फ विजयपुर र चौदण्डीसमेत ५२ भन्दा धेरैवटा राज्य अस्तित्वमा थिए, तीमध्ये एक राज्य गोरखालाई चौबिसी समूहमा गणना गरिन्थ्यो। कतिपय इतिहासकारहरुले गोरखा राज्यलाई चौबिसी समूहमा गणना नगरी अलग्गै उल्लेख गर्ने गरेका छन्।
द्रव्य शाहले वि.सं. १६१६ मा अलग राज्य स्थापना गरेपछि गोरखा छिमेकी राज्यहरु तनहुँ, लमजुङ, कास्की र उत्तरको तिब्बत एवं पूर्वतर्फको कान्तिपुर, ललितपुर आदि राज्यसँग निरन्तर युद्धमा थियो। तसर्थ गोरखाली सेना र जनता साना-ठूला युद्धबाट खारिएका, अनुभवी थिए। गोरखाली राजा र जनतासमेत हरेकजनमा छिमेकी राज्यको भूमि जितेर गोरखा राज्यको बिस्तार वा श्रीवृद्धि गर्नसक्नुपर्छ भन्ने दृढ अठोट थियो। तसर्थ युवामय पृथ्वीनारायण शाह राजा भएपछि उनले पिताजी स्व.नरभूपाल शाहले आक्रमण गरेर पराजय ब्यहोरेको नुवाकोटमाथि पुनः विजयको उत्कण्ठाले वि.सं. १८०० मा काजी महेश्वर पन्तको नेतृत्वमा युद्धका लागि सैन्य आक्रमण गरिदिए, तर यो आक्रमणमा पनि गोरखालीको पराजय भयो।
आफू राजा भएपछि लडेको नुवाकोट युद्धमा पराजित भएपछि पृथ्वीनारायण शाहले तालिमप्राप्त सैनिक र आधुनिक हातहतियारको अभावलाई मुख्य कमजोरी ठाने र तत्काल त्यसको निवारण के कसरी गर्ने भनेर सोच्न थाले। पृथ्वीनारायणले पिताजीको अस्थि, भारतको बनारसमा पर्ने गंगा नदीमा सेलाउने र तीर्थयात्रा गर्ने बहाना बनाएर बनारस यात्रा गर्ने र त्यहाँबाट आधुनिक हतियार (बन्दुक) किनेर ल्याउने योजना बनाए। त्यसबेला भारतका लखनाउ, बनारससमेत विभिन्न सहरमा पोर्चुगिज, फ्रेञ्च तथा अंग्रेजलगायतका युरोपेली र अरबीहरुको प्रभाव बढिसकेको हुनाले त्यताका व्यापारीसँग बजारमा आधुनिक बन्दुक, बारुदलगायतका सैन्य सामग्रीहरु किनमेल गर्न सकिन्थ्यो।
आजभन्दा करिब २८० वर्षअघिको कुरा हो, तत्कालीन गोरखाली सेनाले कान्तिपुर अधीनको नुवाकोट विजय गरेको थियो। नुवाकोट विजयपछि जयन्त रानालाई नुवाकोटको देवीघाटमा निर्दयीतापूर्वक मृत्युदण्ड दिइयो। त्यसको करिब ३० वर्षपछि देवीघाटमै पृथ्वीनारायण शाहको देहावसान हुनुअघि शाहले गरेको पश्चातापको झल्को उनका अन्तिम वाणी ‘दिव्योपदेश’मा पाउन सकिन्छ।
यो योजना पूरा गर्न अर्थ अभाव भएकाले सोको परिपूर्ति के कसरी हुनसक्छ भनी पृथ्वीनारायण शाहले गोरखा दरबारका पुराना सहयोगी बिशे नगर्चीलगायतसँग सल्लाह मागेको, त्यसबेला गोरखा राज्यमा १२ हजार घरधुरी रहेको र हरेक घरसँग एक रुपैयाँ सहयोगस्वरुप संकलन गर्न बिशे नगर्ची (दमाई)ले पृथ्वीनारायण शाहलाई सल्लाह दिएअनुसार गोरखाका १२ हजार घरसँग रकम संकलन गरेर पृथ्वीनारायण शाहले वि.सं. १८०० को हिउँदमा बनारस यात्रा पूरा गरेको इतिहासकारहरुले लेखेका छन्। गोरखा राज्यका विश्वासी भारदारको साथमा पृथ्वीनारायण शाहले बनारस यात्राबाट केही थान आधुनिक बन्दुक र बारुद किनेर ल्याएका थिए। शाहले गोरखाली सैनिकलाई ती बन्दुक चलाउन सिकाउन बनारसबाट तीन जना मुसलमान कालीगढहरु- शेष जोरावर, भेषासिंह र ममताकिलाई गोरखा ल्याए र तीनलाई गोरखामा घरजग्गा दिएर राखेका थिए। ती मुसलमानलाई गोरखाली सेनामा अजिटन पद दिइएको इतिहास शिरोमणि बाबुराम आचार्यले उल्लेख गरेका छन्।
पृथ्वीनारायण शाहले जीवनको अन्तिम समयमा भारदारसामु दिएको वक्तव्य (दिव्योपदेश) मा ‘लषनैबाट तिन् मुस्ल्मां मेरो चाकरिलाई नुवाकोटमा पिछा गरि आयाका थिया. ईनै बन्दुकको तुलकलायेत तिनै मुसरमानले जान्याको रहेछ र सेषजरवर ममताकि भेषासिं तिनै जनालाई अजिटनी दिया र तिलंगा सधायाको हो’ (पृथ्वीनारायण शाहको उपदेश) भन्ने तथ्य पाइनुले, शाहले बनारस यात्रामा ती मुसलमानसँग सम्पर्क गरेको र नुवाकोट विजयपछि उनीहरु पृथ्वीनारायण शाहलाई भेट्न आइपुगेको, त्यसपछि उनीहरु यतै बसोवास गर्न थालेको अनुमान गर्न सकिन्छ।
गोरखाली राजा र जनताको नुवाकोट जे जसरी पनि विजय गरिछाड्ने संकल्प, आधुनिक बन्दुक चलाउन सिकाइएका तालिमे सैनिकको बन्दोवस्त र गोरखाली थप युवा भर्ती गरी तिनलाई तालिमबाट परिपक्व बनाएपछि पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुर राज्य अधीनको नुवाकोटमाथि फेरि आक्रमणको योजना बनाए। शाहले त्रिशूली नदी तरेर पारि जाने र नुवाकोटमा रहेका कान्तिपुरे सैनिकमाथि धावा बोल्ने, त्यसअघि गुप्तरुपमा आफ्ना पक्षका सैनिकमार्फत उत्तम साइतमा नुवाकोटमा किलो गाड्न लगाउने, नुवाकोटको सुरक्षामा कान्तिपुरका तर्फबाट सेनाप्रमुख भएर रहेका गोरखा छाडेकाका पूर्वकाजी जयन्त राना मगर र उनका छोरा शंखमणी राना मगरलाई ‘गोरखासँग मिल्न आइज, नुवाकोट हामीलाई छाडिदे’ भनी सन्देश पठाउने काम गरेका थिए।
पृथ्वीनारायण शाह नेतृत्वको गोरखाली सेनाले नुवाकोट विजयी गर्दा कान्तिपुर अधीनको नुवाकोटगढीको सैन्य नेतृत्व गोरखाका पूर्वकाजी जयन्त रानामा थियो। यहाँनेर काजी जयन्त राना मगरबारे केही चर्चा गरिनु सान्दर्भिक हुने छ। स्व. नरभूपाल शाहको राज्यकालमा वि.सं. १७९२ मा गोरखाले नुवाकोटमाथि आक्रमण गरेको थियो। सो आक्रमणमा गोरखाली सेनाका सेनापति काजी जयन्त राना मगर र काजी महेश्वर पन्त थिए भने कान्तिपुरे सेनाका सेनापति, नुवाकोट रक्षार्थ काशीराम थापा थिए। गोरखाले नुवाकोटमाथि गरेको आक्रमणमा गोरखाली सेनाको पराजय भयो, काजी जयन्त राना मगर र महेश्वर पन्तको काशीराम थापाका सेनासामु केही जोर चलेन। युद्धमा पराजित भएपछि काजी जयन्त राना मगरमाथि विपक्षीसँग मिलेको आरोप लाग्न थाल्यो। महेश्वर पन्तले गोरखा दरबारमा गएर, ‘यी मगरहरुकै ठाउँमा म काजी हुन आएकोले म काजी भएकोमा यिनीहरु रिस गर्छन् र काममा सहयोग गर्दैनन्, यसैले, मगरहरुको असहयोगका कारण मैले हजुरको राज्य सपार्न सकिनँ’ भनी उनीलगायतका गोरखाली पुराना भारदारले राजा नरभूपाल र उनकी महारानी चन्द्रप्रभाको कान भरेपछि जयन्त राना मगरको काजी पद खोसियो। पद खोसिएको केही समयपछि जयन्त एक साँझ गोरखा राजदरबारमा राजारानीसँग दर्शनभेटका लागि पुगेका थिए। राजा नरभूपाल शाह नुवाकोट युद्धमा पराजयपछि विरक्तिएर अधिक समय जंगलमा बस्दथे, पूजाआजामा समय बिताउँदथे, जयन्त राना मगरले जेठी महारानीसँग भेटेर ‘मैले जो सकेको कोसिस गरेको हुँ, तर दैवको खेला युद्ध हारियो, म गोरखा राज्यमा अटाइनँ, मैले र मेरा पुर्खाले गोरखा राज्यको सकेको सेवा गरेकै हो, कुनै गल्ती गरेको जस्तो लाग्दैन, यदि अञ्जानवस गल्ती भएको रहेछ भने यो सेवकलाई माफ गरिबक्सेला, अब म बिदा भएँ’ भनी जेठी महारानीसँग बिदा भएर निस्केका थिए। लगत्तै उनी परिवारसहित कान्तिपुरका राजा जगज्जय मल्लको सेवामा पुगेर नुवाकोटको बेलकोटमा बस्न थालेका थिए। पछि वि.सं. १८९२ माघमा कान्तिपुरका राजा जगज्जयको मृत्युपछि राजा भएका जयप्रकाश मल्लको पलाञ्चोकका खस थापा क्षेत्री काशीराम थापा उग्र विरोधी भएकाले, राजा जयप्रकाश मल्लले काशीराम थापाको नुवाकोटको खानगी खोसेर जयन्त राना मगरलाई राम्रो खानगीसहित नुवाकोटको तैनाथी दिएका थिए। त्यसपछि जयन्त परिवारसहित नुवाकोट रक्षार्थ कान्तिपुरका सैनिकको नेतृत्व गरेर उतै बसेका थिए।
जयन्त मगर ग्याङमी राना वंशका थिए। यिनी वि.सं. १७७३ मा नरभूपाल शाह गोरखाका राजा भएपछि गोरखाका काजी भएको देखिन्छ। नरभूपाल राजा भएपछि काजी जयन्तको नेतृत्वमा गोरखाली सेनाले केरुङ र झुगाको दोसाध झुगथाना भोटमा आक्रमण गरेको थियो। तर, जयन्त नेतृत्वको यो गोरखाली सैन्य दललाई भोटका सेनाले घेरेर राखे, पछि भुटानका राजाले भोट र गोरखाबीच सन्धि गराइ गोरखाली सेनालाई भोटका सेनाको घेराबाट मुक्त गरिदिएका थिए।
नरभूपाल शाह गोरखाको राजा हुँदाताका गोरखा राज्यमा दुई काजी पदमा मगर थिए। वि.सं. १७८७ ताका कान्तिपुर र पाटनसँग मिलेर भक्तपुरविरुद्धको लडाइँमा नरभूपालले गोरखाली सेना पठाएका थिए, तर भक्तपुरले तनहुँ र लमजुङका सेनाको सहयोग लिएर आफ्नो भूमि जोगाउन सफल भयो। त्यसपछि गोरखाली सेना घर फर्किएपछि भानु अज्र्याल र महेश्वर पन्तले राजा नरभूपाल शाहलाई ‘यी मगरहरु राज्य थाम्न सक्लान्, बढाउन सक्दैनन्, यिनको भर परेर बसेमा गोरखा राज्यको उन्नति हुने छैन’ भनी सुझाएपछि नरभूपाल शाहले रामकृष्ण थापा मगरलाइ काजी पदबाट हटाई महेश्वर पन्तलाई उक्त पद दिएका थिए। जयन्त राना मगरको काजी पद यथावत् थियो। वि.सं. १७९२ मा भएको नुवाकोट आक्रमणपछि पनि यी नै महेश्वर पन्तको कुरा सुनेर राजा नरभूपालले काजी जयन्तको पद खोसेका थिए, यसपछि जयन्तले गोरखा राज्य नै त्यागिदिए। यसबाट तत्कालीन गोरखा राज्यमा मगर र ब्राह्मणबीच भित्रीरुपमा मनोमालिन्य बढ्दै गएको स्पष्ट हुन्छ।
वि.सं. १७९९ मा गोरखाका राजा भएपछि पृथ्वीनारायण शाहले दोस्रोपटक नुवाकोट आक्रमण गर्नुअघि गोरखाका विश्वासी सैनिकमार्फत गोरखासँग मिल्न र नुवाकोट मोर्चा गोरखालाई छाडिदिन सन्देश पठाएका थिए। पृथ्वीनारायणले ‘तँ हाम्रै मान्छे होस्, हामीसँग मिल्न आइज’ भन्ने ब्यहोराको पत्र लेखेर जयन्त रानालाई हात लिन खोजेका थिए। जयन्त रानाले यसको जवाफमा, ‘हुन त म हजुरकै मानिस हुँ, तर मैले जयप्रकाश मल्लको नुन खाइहालेँ, यसकारण म नुनको सोझो गर्छु’ भनी जवाफ पठाए।
पृथ्वीनारायण शाहको मनभित्र गोरखाली सेना र दरबारको सम्पूर्ण भित्री भेदहरु थाहा पाएको जयन्त राना मगर स्वयं नै नुवाकोटगढीको तैनाथमा भएकाले युद्ध जित्न मुस्किल पर्नसक्ने शंका थियो। तसर्थ उनले ज्योतिषलाई राम्रो साइत हेर्न लगाएका थिए। सकेसम्म जयन्तलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने आशा पनि थियो। तर जयन्तले आशाविपरीत उल्टो हाँक दिएर जवाफ पठाएकाले उनीप्रति शाह भित्रभित्र मुर्मुरिएका थिए। शाहले नुवाकोट र गोरखाको सीमा, त्रिशूली नदी किनारको खिञ्चेतमा दिउँसोको समयमा कुलो खन्ने निहुँ बनाएर नुवाकोटतिरका सैनिकको चहलपहल शूक्ष्मरुपमा बुझ्ने प्रयास गरेका थिए, कुलो खन्ने खेतालाहरुको भेषमा गोरखाली सैनिक त्रिशूली नदी किनारमा भेला गराइसकेका थिए।
कान्तिपुर सहरमा दसैंको ठीक अघि इन्द्रजात्रा हुने र त्यस समयमा नुवाकोट किल्लाका प्रमुख रक्षक कान्तिपुर सहर जाने समाचार थाहा पाएपछि पृथ्वीनारायण शाहले सोही समयमा नुवाकोट आक्रमणको साइत निकाल्न लगाएका थिए। खेताला भेषमा रहेका सैनिकलाई अघिल्लो दिनमा त्रिशूली नदी तारिसकेपछि वि.सं. १८०१ असोज १५ गते गोरखाली सेनाले नुवाकोटमाथि आक्रमण गरे। त्यसबेला नुवाकोट किल्लाका मुख्यरक्षक जयन्त राना इन्द्रजात्रामा सरिक हुन र गोरखाली सेनाको सम्भावित आक्रमणबारे राजा जयप्रकाश मल्लसँग सल्लाह गरेर थप सैनिक र हातहतियारको जोहो गर्ने उद्देश्यले कान्तिपुर सहर पुगेका थिए। नुवाकोटको सुरक्षा प्रमुख जयन्त रानाका छोरा शंखमणि राना मगर महामण्डलमा बसेर सम्भावित आक्रमणको प्रतिकारका लागि सतर्क थिए।
वि.सं.१८०१ असोज १५ गते गोरखाली सेनाले नुवाकोट विजय गरेको थियो। यो विजय नै आजको नेपाल एकीकरणको प्रारम्भ बिन्दु हो। यस विजय र नेपाल एकीकरणको थालनीमा काजी जयन्त र उनका छोरा सेनापति शंखमणिको कहालीलाग्दो बलिदानी इतिहासमा अविष्मरणीय छ।
नुवाकोटमाथि गोरखाली सेनाले तीनधारे, महामण्डल, धरमपानी र गेर्खुसमेत चार अलग-अलग मुखबाट आक्रमण गरेका थिए। ती अलग-अलग मोर्चाको नेतृत्त्व स्वयं राजा पृथ्वीनारायण शाह, काजी कालु पाँडे, चौतारा महोद्धमकीर्ति शाहसहितका सेनानायकले गरेका थिए। शंखमणिले गोरखाली सेनाविरुद्ध बहादुरीपूर्वक लडाइँ लडे, तर विजय गोरखाली सेनाको भयो। गोरखाली सेनाको कब्जामा आएका कान्तिपुरे सेनाका कमाण्डर शंखमणि रानाको शीर किशोर अवस्थाका पृथ्वीनारायण शाहका कान्छा भाइ १२ वर्षीय दलमर्दन शाहले गोरखा दरबारको जेठी तरवार चलाएर छिनाएपछि, विधिवत् नुवाकोट भूभाग गोरखा राज्यको अधीनमा भएको थियो।
नुवाकोटमा गोरखालीको विजय भएको र आफ्ना छोरा मारिएको खबर पाएलगत्तै जयन्त राना मगर कान्तिपुरबाट फर्किए, उनी बेलकोटमा बसेर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग सैनिक सहायता माग गरेर नुवाकोट फिर्ता गर्ने उद्योगमा लागे। महामण्डलबाट बेलकोट करिब सात किलोमिटर आसपासमा थियो। पृथ्वीनारायण शाहले जयन्त रानाको यो तयारीको समाचार थाहा पाएर अचानक बेलकोटमाथि आक्रमण गरिदिए। केही समयको युद्धपछि जयन्त रानापक्षका सैनिक गोरखाली सैनिकसँग युद्धमा टिक्न नसकी भागे, जयन्तलाई गोरखाली सैनिकले पक्राउ गरे। जयन्तसँग पृथ्वीनारायण शाह धेरै रिसाएका थिए। यिनलाई बन्दी बनाएर नुवाकोट लगियो र जीवितै शरीरका छाला काढ्न लगाएर नुन खुर्सानी दलेर कठोर यातना दिइयो, जयन्त रानाले धेरै समय तड्पीतड्पी कठोर वेदना सहन नसकेर प्राण त्यागे। नुवाकोटको देवीघाटमा मृत्युदण्ड दिएपछि जयन्तको शरीर जलाउन नदिई काग र गिद्दलाई खान दिइयो। विक्रमको १८औं शताब्दीताका पश्चिम नेपालका पहाडी राज्यका स-साना राज्यका राजाहरुले आफ्ना राज्यका विद्रोही सैनिक र विपक्षी राज्यका आफ्नो कब्जामा परेका सैनिकमाथि निक्कै निर्दयता लाद्ने गर्दथे। यही प्रचलनको सिको गरेर पृथ्वीनारायण शाहले त्यसबेला आफ्नो राज्यका पूर्वसेवक, सैनिकमाथि अत्यन्त निर्दयता प्रकट गरेका थिए।
वि.सं.१८०१ असोज १५ गते गोरखाली सेनाले नुवाकोट विजय गरेको थियो। यो विजय नै आजको नेपाल एकीकरणको प्रारम्भ बिन्दु हो। यस विजय र नेपाल एकीकरणको थालनीमा काजी जयन्त र उनका छोरा सेनापति शंखमणिको कहालीलाग्दो बलिदानी इतिहासमा अविष्मरणीय छ।
नुवाकोटमा पर्ने महामण्डल र बेलकोट विजयपछि गोरखाली विजयले थप निरन्तरता पाउन सक्यो। वि.सं. १८३१ माघ १ मा पृथ्वीनारायण शाहको देहान्त हुनुअघिसम्म गोरखाली सेनाले काठमाडौं उपत्यकाका तीन राज्य- कान्तिपुर, ललितपुर र भक्तपुरका साथै मकवानपुर, विजयपुर र चौदण्डीसमेतका राज्य जितेर वर्तमान नेपाल निर्माणको महत्त्वपूर्ण जग बसाल्न सफल भएको थियो।
नेपाल एकीकरण अभियान जारी रहेको समयमा वि.सं. १८३१ को मंसिर-पुसमा पृथ्वीनारायण शाहको विमारी धेरै बढ्यो। शाहको शरीरमा खटिरा निस्कने र ती खटिराहरु पाकेर फुट्ने सिलसिला भइरह्यो। यसको निवारणमा तल्लीन काठमाडौंका नाम कमाएका राजवैद्यले हात झिकेपछि शाहलाई अन्तिम अवस्थाको खातिर नुवाकोटको त्रिशूली नदी र तादी नदीको दोभान देवीघाट पुर्याइयो। सम्भवतः पृथ्वीनारायण शाहलाई देवीघाटमा यसबेला ३० वर्षअघि असोजमा आफूले अत्यन्त यातना दिएर, निर्दयतापूर्वक मृत्युदण्ड दिएका काजी जयन्तको स्मरण हुन गयो होला। नुवाकोटको देवीघाटमा जीवनको अन्तिम क्षणमा पृथ्वीनारायण शाहले आफ्ना निकटका भाइभारदारसामु केही कुरा अभिव्यक्त गरेका थिए।
पृथ्वीनारायण शाहबाट त्यसबेला अभिव्यक्त भएका कुराको संकलन असन केलटोलको पल्टनघर (काजी अभिमानसिंह बस्न्यातको निजी निवास) बाट उनका सन्तति बखतमानसिंह बस्न्यातमार्फत योगी नरहरिनाथ र बाबुराम आचार्यको तजविजमा ‘दिव्योपदेश’ नाममा प्रकाशन भएको छ। उक्त दिव्योपदेशमा पृथ्वीनारायण शाहले अभिव्यक्त गरेका आफ्नो कुल, परिवार, नुवाकोट विजय, जयन्त राना, उपत्यका विजय, सैन्य संगठन निर्माण र राजाले सैनिक वा सेवकलाई घरमा नमार्नु भन्ने अर्तीसहित अन्तिम अवस्थासम्मको अपूर्ण मनोकांक्षासमेत संकलित छन्। तीमध्ये शाहबाट अभिव्यक्त एक टीप्पणी यस्तो छः
‘पाडे बस्न्यात् पंथ भैयाद मंग्रलाई माराताप् दिदा आलोपालो पालो गरि षान दिनु. ई मेरा नुनगुनका स्वझा सेवक हुन्. ईनीहरुको जीव जान्या बिराम गर्याको भया पनि आफूले नमार्नु. बरु मारातप लियेर लडाञीमा झोसिदिनु र जिव जोगाई आयो भन्या बढिया भयो. मरिगयो भन्या आफूले मार्नु अर्कैबाट मारिदियाको बढिया हुन्छ. तब राजाले सेवकलाई घरमा नमार्नू.’
लाग्छ, पृथ्वीनारायण शाहको माथिको यो टीप्पणी उनको पश्चाताप हो, आफूबाट तीन दशकअघि हुन गएको निरीह सेवकमाथि आफैंले दिएको उदण्ड सजायको पछुतोभाव हो। आफैंले आफ्नो कब्जामा रहेको निरीह सेवकमाथि गरेको पश्चातापलाई स्मरण गराउनेगरी ५२ वर्षको उमेरमा शरीरभरि घाउ खटिराहरु आइरहनु र सोही घटनालाई स्मरण गराएर, सोही स्थलमा जीवन परित्याग गर्नुपर्ने अवस्था आउनु, सम्भवतः निरीहलाई शासकले दण्ड दिने र स्वयं शासकलाई चाहिँ दैवले दण्ड दिने रहेछन् भन्ने प्रमाण हो।