काठमाडाैं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको दिगो कृषि विकास, खाद्य सुरक्षा वृद्धि र ग्रामीण समुदायको जीविकोपार्जनमा गरेको सहयोगको सराहना गरे। उनले नवप्रवर्तन, साना उत्पादनकर्ताको पहुँच र प्राविधिक कृषि प्रवद्र्धन गर्ने एफएओको दृष्टिाकोण नेपालको दिगो विकास प्राथमिकतासँग मेल खाएको उल्लेख गरे।
भेटमा शिमिजुले जलवायु परिवर्तनका कारण खाद्य सङ्कट बढ्दै गएकाले उक्त सङ्कट कम गर्न एफएओले उत्थानशील संरचना बनाएर खाद्यमा आत्मनिर्भर बनाइ अगाडि बढ्न चाहेको बताए । उनले कृषि उत्पादन तथा जीविकोपार्जनका लागि दिगो सिँचाइ सुविधा उपलब्ध गराउनेबारे एफएओले काम गर्दै आएको उल्लेख गरे। भेटमा मन्त्रालयका ऊर्जाविज्ञ प्रवल अधिकारी, सहसचिव जीवछ मण्डललगायतको उपस्थिति रहेको थियो ।