पोखरा – पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरेको हो ।
संकटाविरुद्धको जितमा आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक–एक गोल गरेका थिए । खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्दै सेमिफाइनल स्थान पक्का गरेको हो ।
खेलको ७० औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा विवेकले गोल गर्दै आर्मीलाई ३–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग चुनिए । यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ । थ्री स्टार र पुलिसबीचको खेल बुधबार हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रूपैयाँ प्राप्त गर्नेछ ।