काठमाडाैं - वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले तापमान वृद्धिलाई सीमित नराख्ने हो हिमालको अस्थित्व नजोगिन भन्दै तापमान वृद्धि रोकेर हिमाल जोगाउन पैरवी भइरहेको बताए ।
“हिमाल कमजोर भौगर्भिक अवस्था र जलवायुको उच्च जोखिमा रहेको क्षेत्र भएकाले पनि यसलाई जोगाउन विश्वको तापमान वृद्धिलाई सीमित राख्नुपर्छ”, उनले भने “जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रका बासिन्दा बसाइँ सर्न थालेका छन्, यसले हिमाली भेगको संस्कृतिमा लोप हुँदै जान थालेका छन् । यस्तो अवस्थामा विकसित र उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरुको सहयोगमा एकीकृत र बृहत् आयोजानहरु सञ्चालन गर्नुपर्छ । भारत र चीन जस्ता आर्थिक समृद्धि हासिल गरिसकेका मुलुकले कार्बन उत्सर्जन कम गर्न लगानी गर्नुपर्छ ।”
नयाँ एसियाली विकास बैङ्क (एडिबी) को अनुसन्धानले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।
नेपालमा जलवायु व्यवस्थापनका लागि प्रतिकार्य रणनीति–२०८० अनुसार जलवायुजन्य र जलसम्बन्धी विपद्ले जीउज्यान, धनमाल र सम्पत्तिमा गम्भीर क्षति पुर्याएका छन् । वायुमण्डलीय तापक्रमका वृद्धिले हिउँ पग्लने क्रम बढको छभने नयाँ हिमताल बनेको रणनीतिमा उल्लेख छ । “अन्य क्षेत्रको तुलनामा हिमालय क्षेत्रमा कम्तीमा पनि ०.३ देखि ०.७ डिग्री सेल्सियस तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ”, रणनीतिमा भनिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा तापक्रमका वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेल्सिियस रहेको छ । विभागका महानिर्देशक कमलराज जोशीले ४७ वटा ठूला हिमताल जोखिमको रहेका जनाउँदै ती हिमतालहरु फुटेमा मुलुकले खर्बौं आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आउने बताए ।