काठमाडौं – नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक मलेसियाले आंशिकरुपमा विदेशी कामदारको माग गर्न थालेको छ । गत मे ३१ देखि विदेशी कामदारको नयाँ भर्ना स्वीकृति रोकेको मलेसिया सरकारले कृषि, प्लान्टेसन, मार्ट तथा सेक्युरिटी गार्ड गरी चार क्षेत्रमा आंशिक रुपमा आप्रवासी कामदारको माग गर्न थालेको हो ।
मलेसिया सरकारको २०२४ भर विदेशी कामदार भर्ना नलिने नीति रहे पनि केही क्षेत्रमा भने खुला रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । उनका अनुसार कृषि र सेक्युरिटी गार्डमा नेपाली कामदारको माग भइरहेको छ । ‘कतिपय व्यवसायीले कामदार पठाउन डिमाण्ड ल्याए पनि मागपत्र प्रमाणीकरण हुन नसक्दा रोजगारीको अवसर गुमिरहेको छ,’ उनले भने, ‘मलेसियाले नयाँ कामदार भर्ना लिन थाले पनि हाम्रो नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरिदिएका कारण कामदार पठाउन सकिएको छैन ।’
प्रतिस्पर्धी ठानिएका बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायत मुलुकबाट मलेसियामा कामदार पठाउन थाले पनि नेपालको कूटनीतिक पहल कमजोर भएका कारण नेपालीको माग हुँदाहुँदै पनि रोकिनुपर्ने अवस्था आएको महासचिव भुर्तेलले बताए । दूतावासमा पुराना कर्मचारी कार्यअवधि सकिएको र नयाँ जान बाँकी भएकाले जनशक्तिको अभावमा मागपत्र प्रमाणीकरण हुन नसकेको जवाफ दूतावासले दिने गरेको उनको भनाइ छ । जसका कारण मलेसियामा कहिलेदेखि नयाँ कामदार पठाउन सकिन्छ भन्नेबारे यकीन गर्न व्यवसायीलाई गाह्रो परेको उनले बताए ।