काठमाडौं– एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाईमा आयोजित दशौँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ समापन भएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित आयोजित मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले १७ फागुनमा शुभारम्भ गरेका थिए । मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो ।
मेलामा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी १० देशका कलाकारले कला प्रस्तुत गरेका थिए । १० देशबाट आएका दुई सय पचास भन्दा बढी कलाकारहरू उपस्थिति रहेको थियो । नेपाललगायत सबै देशका कलाकर्मीले मेलामा आफ्नो देशको लोक संस्कृति झल्काउने नृत्य र गीत प्रस्तुत गरेका थिए ।
नेपाली लोक संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यसहित संस्थाले स्थापनाकालदेखि नै लोक संस्कृति तथा पर्यटकीय विकासबारे कार्यक्रमहरू गर्दै आएको छ । मेला संयोजक रामचन्द्र कोइरालाले भने, ‘यस कल्चर ग्रुपले मौलिक लोक संस्कृति झल्किने कार्यक्रमहरू स्वदेश तथा बिदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको छ ।’