काठमाडाैं - काठमाडौँका ३ स्थानमा प्रदर्शन भइरहेकाे छ । नेकपा एमाले,सहकारी पीडित र दुर्गा प्रसाईंकाे महाअभियानले प्रदर्शन गर्दै छन्।
नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन्।
प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनको क्रममा हुनसक्ने गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।
सुरक्षाको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले गर्ने भएका छन् । घिमिरेले भने, ‘काठमाडौँको एसएसपीको कमान्डमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।’ प्रदर्शन स्थलको सुरक्षामा तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी कर्मचारी पनि परिचालन गरिएको छ । सुरक्षामा खटिने जनशक्तिलाई उपत्यका प्रहरी कार्यालयले ब्रिफिङ गरेको छ ।
प्रदर्शन अवधिभर काठमाडौँ उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । उच्च पदस्थहरूलाई आवश्यकता अनुसार मात्रै हिँड्न र समन्वय गर्न भनिएको एसएसपी घिमिरेले बताए । उनले उपत्यका प्रहरी कार्यालयसँग समन्वय गरेर रुट लिएर मात्र यात्रा गर्न बताएका छन् ।