सरकार पनि यस्तो भएको छ कि यसको अवयवहरू पनि निकम्मा छ । विश्वलाई नै अहिले कारोना भाइरसले आततायी बनाएको छ । यस्तो बेलामा व्यापारीहरूले कालोबजारी गरिरहेको देखिन्छ । आफू मर्ने कि बाँच्ने थाहा छैन तर व्यापारीहरूले भने कालोबजारी गरेर बसेको देखिन्छ । साँच्चै भन्ने हो भने यो मुलुकमा मानवता मरेको छ । कारोनाको त्रासका बीच पनि व्यापारीहरूले कालोबजारीमा ध्यान दिएका छन् । सरकारले पनि कालोबजारीलाई नियन्त्रण गर्ने कुनै संकेत देखाएको छैन । पछिल्लो केही दिनयता दैनिक उपभोग्य वस्तुमा अत्याधिक कालोबजारी भएको छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गरेपछि जनता मारमा परेका हुन् । १० रूपैयाँको सामानलाई ५० देखि एक सय रूपैयाँसम्म तिर्दासमेत नपाइने अवस्था छ । यस्तो अवस्थामा पनि सरकारले कालोबजारीको नियन्त्रण गर्ने कुनै काम अघि नबढाउनु जनताका लागि दुःखद कुरा भएको छ ।
सरकारले भाषणमा बजारमा कुनै पनि वस्तुको अभाव नरहेको बताउँदै आएको छ । सरकारले कोरोना भाइरसको त्रासका कारण कुनैपनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको भन्दै कालोबजारी गरिएको पाइएमा कानुनअनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी दिए पनि सरकारको उर्दीलाई कालोबजारीयाहरूले भने को छ । तर, सरकारको उक्त चेतावनी शब्दमै सिमित भएको छ । अहिले प्रत्येक पसलमा कालोबजारी भइरहेको छ । माक्स र औषधिजन्य वस्तुमा मात्र नभएर दैनिक उपभोग्य वस्तुमा समेत कालाबजारी बढ्दो छ । बजारमा न माक्स पाइन्छ, न त सहजरूपमा ग्याँस, चिनी र नुन नै । तर, सरकारले भने बारम्बार अभाव नरहेको बताउँदै आएको छ । तर, नियमन नभएपपछि व्यापारीले मनपरी गर्दै आएका छन् । सरकारले कस्को पक्षमा काम गर्दै छ ? जनताको कि कालोबजारीहरूको ?
यत्तिसम्म कि औषधिमा पनि कालोबजारी गर्दा पनि कस्तो अप्ठ्यारो महसुस नभएको ? सरकारले आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै आएको भए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानुन तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाही हुने सरकारले चेतावनी दिएको छ । तर, सरकारको यो चेतावनीले जनतालाई राहत मिलेको छैन । सरकारको भनाइले जनताको समस्याको सामधान होइन, उल्टै समस्यालाई गिज्याएको छ भने व्यापारीलाई प्रोत्साहन मिलेको छ । उनले कालोबजारीविरुद्ध बजार अनुगमनको कुरै गरेनन् । सरकारले बोले पनि उसलाई अनुगमन गर्ने फुर्सद छैन । अनुगमन नगर्दा व्यापारीलाई कोरोना भाइरसको हल्ला कमाउ धन्दा बनेको छ । संकटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी त्यसरी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै जेलसम्म हाल्नुपर्छ । त्यसो भए मात्र आउँदा दिनमा कालोबजारी गर्ने काम छाड्छन् अन्यथा कालोबजारीको हिम्मत बढ्ने छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६ ०६:३६