काठमाडौँ – पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता देव गुरुङलाई पक्राउ गरेको छ । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको लोकन्थलीमा निर्माणाधीन घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले गुरुङलाई जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले गुरुङलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताएको छ । बुधबार बिहान भएको विष्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो । सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएलगत्तै निवर्तमानमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । बाँस्कोटा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।