ओखलढुंगा- खिजीदेम्बाका युवाहरुले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । ओखलढुंगा जिल्लाकाे खिजीदेम्बा गाँउपालिकाका ५ जना युवा र ४ जना कोरियाली आरोहीहरुले आमादब्लम हिमालको सफल आरोहण गरेका हुन् ।
जोखिमपूर्ण मानिने आमादब्लम हिमालको सफलतापूर्वक आरोहण गर्नेमा पिके ट्रेक एण्ड एक्पीडिसनका डाइरेक्टर ङावा पेम्बा शेर्पा, पात्ले शेर्पा किदुगका महासचिव टेण्डु शेर्पा, छिरिङ शेर्पा रहेका छन् । उनीहरु सबै खिजीदेम्बा ९ का हुन् ।
त्यस्तै, खिजीदेम्बा ५ का फुर्वा शेर्पाले पनि सोही कम्पनीबाट आरोहण गरेको आरोही टेण्डु शेर्पाले जानकारी दिए । उनीहरुसँगै चार जना कोरियाली आरोहीले पनि उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
गत नोवेम्बर २१ का दिन विहान १० बजेर ३० मिनेटदेखि १० बजेर ५० मिनेटभित्र ८ जनै आरोहीले ६ हजार ८ सय १२ मिटर उचाईको हिमालको सफल आरोहण गरी फर्केको जनाइएको छ ।
यसैबीच एसेन्ट एड ट्रेक एण्ड एक्पीडिसनबाट खिजीदेम्बा ९ को मिङमार डि शेर्पाले पनि नोवेम्बर २० मा आमादब्लम हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । ६ हजार भन्दा माथिको अन्य हिमालहरु समेत आरोहण गरेका उनी शेर्पा हेल्पिङ ह्यण्डका अध्यक्ष र खुम्बु एक्सक्र्यूजनका डाइरेकटर समेत हुन् ।