काठमाडौं - भाषा विज्ञान क्षेत्रमा देखापरेका समस्या समाधानका लागि बहस गर्ने उद्देश्यले ४५औँ अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।भाषा विज्ञान समाज नेपालको आयोजनामा सुरु भएको दुई दिने सम्मेलनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका संस्थाले पनि सहयोग गरेका छन् ।
सम्मेलनमा करिब एक दर्जन देशका एक सय ५० भन्दा बढी भाषा विज्ञान क्षेत्रका अध्येताको सहभागिता छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भाषा विज्ञान क्षेत्रको उन्नयनका लागि सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, भाषा विज्ञान समाजका अध्यक्ष बलराम प्रसाईं, त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख डा कर्णाकर खतिवडा, भाषा विज्ञानका प्राध्यापक दानराज रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य त्रैलोक्यमान बनेपाली, भाषा आयोगका पूर्वसदस्य अमृत योञ्जन, भाषा आयोगका कामु सचिव डा लोकबहादुर लोप्चन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक महाशाखाका निमित्त प्रमुख सनिना गुरुङ, समाजका महासचिव डा तारामान राईलगायतले यस क्षेत्रलाई अघि बढाउन गर्नुपर्ने कामका विषयमा धारणा राखेका थिए ।
सम्मेलन बुधबारसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा भाषा विज्ञान क्षेत्रका प्राध्यापक, विद्यार्थी एवं यस क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका व्यक्तित्वको सहभागिता छ । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत सुरु भएको जनाइएको छ ।