काठमाडाैं - सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट दिइएको छ ।विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ । धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिँदै शुल्क पनि नै स्वीकृत गरेको छ । मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।
यसैगरी, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चारपाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुईपाङ्ग्रेलाई रु १० तोकेको छ ।
धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।