जनकपुरधाम – महोत्तरीमा दुई हप्ताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेका दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो । महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बलात्कारमा संलग्न ७ जनामध्ये चार जनालाई पक्राउ गरिएको जनाए । उनका अनुसार पहिले दुई जनालाई पक्राउ गरिएको र अरु दुई जनालाई उनीहरुकै बयानका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ बस्ने २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभात रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकासहित ७ जनाले परिक्रमा मेला हेर्न गएका १६ र १७ वर्षीया दुई किशोरीलाई जवरजस्तीकरणी गरेका थिए । घटनामा संलग्न अरु ३ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ।