काठमाडौं – अफगानिस्तान सरकारले १५ सय तालिबानी कैदीलाई रिहा गर्ने भएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले फेब्रुअरी २९ मा संयुक्त राज्य अमेरिका र तालिबानी समूहबीचको शान्ति सम्झौताबमोजिम अफगानिस्तानमा शान्ति स्थापना गर्न तालिबानी समूहका लडाकुलाई रिहा गर्न स्वीकृति दिएका हुन् । उनले रिहा गरिएका सम्पूर्ण तालिबानी कैदीले पुनः युद्धमा नफर्किने सुनिश्चितताका लागि लिखित पत्र दिनुपर्ने सर्त राखेका छन् भने तालिबानी समूह पनि आफ्ना लडाकुको रिहाको बदलामा आफ्नो कब्जामा रहेका एक हजार सरकारी अधिकारीलाई छोडिदिने विषयमा सहमत भएको छ । राष्ट्रपति घानीले स्वीकृति प्रदान गरेसँगै १५०० तालिबानी कैदीलाई अबको १५ दिनभित्र प्रतिदिन एक सय गरी रिहा गरिने भएको छ ।
संयुक्त राज्य अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता लिने भएपछि तालिबानी समूह र अमेरिकाबीच सम्झौता भएको हो । यसअघि अमेरिकासँगको सम्झौतामा तालिबानी समूहले हिंसात्मक गतिविधि कम गर्नुपर्ने र अलकाइदा तथा अन्य अतिवादी समूहमाथि प्रतिबन्ध लगाउनुपर्ने उल्लेखित छ । हाल अफगान सरकारको नियन्त्रणमा अनुमानित पाँच हजार तालिबानी लडाकु रहेका छन् ।