काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ ।
बढेको मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रूपैयाँ तोकिएको छ ।पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललगायतका स्थान छन् ।
निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ ।