काठमाडाैं – आइएमईले सञ्चालन गरेको ‘आइएमई गरौं, करोडपति बनौं’ योजनाअन्तर्गत जापानबाट आइएमई गरेकी प्रमिला रोकायाले एक करोड रुपैयाँ जितेकी छन् । तीन वर्ष अघि जापान पुगेकी कैलालीकी रोकाया आइएमईमार्फत नेपालमा रेमिट्यान्स पठाएबापत एक करोड रुपैयाँ जित्ने भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।
उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, आइएमई लिमिटेडका सुशिल थापा र क्योदाई जापानका युचिरो किमोतो तथा कसिको कानीमोतो किमोतोले एक कार्यक्रमकाबीच शनिबार एक करोड रुपौयँको चेक हस्तान्तरण गरेका थिए ।
नेपालमा विदेशबाट पैसा पठाउन वैधानिक माध्यमको प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले आइएमईले एक वर्षअघि नै उक्त योजनामा सहभागी हुने भाग्यशाली विजेतालाई एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । साथै उक्त योजनाअन्तर्गत हरेक महिना एक/एक जनाले एक लाख राशीको नगद उपहार जित्दै आएको आइएमईले जनाएको छ ।
करोड राशीको चेक हात परेपछि पत्यारै लाग्न नसक्ने खुसी मिलेको रोकायाले प्रतिक्रिया दिएकी छन् । ‘आइएमईमार्फत रेमिट्यान्स पठाउँदा नसोचेको खुसी मिलेको छ, पहिले विजेता भएको भन्दा पत्यारै लागेको थिएन, भाग्य नै चम्कियो, अब नेपालमा राम्रो घर बनाएर बाआमालाई राख्छु,’ उनले भनिन् ।
आइएमई पे वालेट, बैंक खातामा रकम जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यस योजनामा सहभागी भएको आइएमईले जनाएको छ । विदेशमा रहेका नेपालीहरुलाई वैधानिक माध्यमबाट मात्र नेपालमा रकम पठाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना सञ्चालन गरिएको आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।