काठमाडौँ- काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको हो ।
यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो ।
विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५÷१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो । बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक क विकेट लिए ।