अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ ।
शमुलिक ए. वास
नवनियुक्त इजरालयी राजदूत
- २० असोज २०८० मा विपीनलाई अलमिम किवुजबाट बन्धक
- विपीन गाजा क्षेत्रको भूमिगत सुरुङमा रहेको जानकारी
काठमाडौं– नेपाली विद्यार्थी विपीन जोशी इजरायलबाट बेपत्ता भएको १४ महिना बित्यो । प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली सम्वतअनुसार २० असोज २०८० मा बेपत्ता पारेका थिए । उनै जोशीको हालसम्म अत्तोपत्तो छैन ।
जोशीका परिवारसहित सिंगो नेपालीजन दुःखी छन् । तर, बिहीबार नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताए । द्वन्द्वको एउटा पक्ष इजरायली राजदूतको यस्तो भनाइ जोशी परिवार र सिँगो नेपालीजनका लागि खुसीको कुरा हो । वासले पत्रकार सम्मेलनमा भने, ‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ ।’उनले नेपाल र इजरायलका लागि विपिन निकै महत्वपूर्ण रहेको बताए । विपीन छिट्टै नेपाल फर्किने उनको दाबी गरे ।
सास कि लास भन्दै आएका परिवार विपीनको व्यग्र प्रतीक्षामा छ । सरकारले कूटनीतिक संयन्त्रमार्फत उनको रिहाका लागि पहल गरिरहेको छ । तर, स्थिति सार्वजनिक भएको छैन । पटकपटक युद्धविरामको बेला इजरायली र प्यालेस्टाइनीको रिहा आपसमा गरिए पनि विपीनको भएको छैन । विपीनलाई प्यालेस्टाइनी लडाकु समूह हमासले लगेको भनिँदै आएको छ । उनलाई ७ अक्टोबर २०२३ ( २० असोज २०८०) मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई हमासले गाजा क्षेत्र लगेको थियो । त्यसपछिको उनको स्थितिबारे हालसम्म इजरायल न नेपाललाई जानकारी छ ।यहीबेला नवनियुक्त इजरायली राजदूतले विपीन जोशी जीवित रहेको र उनी चाँडै नेपाल फर्किने बताएका हुन् ।
हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको बताइन्छ । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा भइसकेका छन् । ८ जनालाई भने इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ । बाँकी ९६ जना अझै हमासको भूमिगत सुरुङमा बन्धक रहेको र त्यसैमध्येमा विपीन रहेको इजरायलले जनाएको छ ।
हमाससँगको लडाइँमा इजरायललाई सहयोग गर्दै आएको देश अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता गर्न प्रयास गरिरहेका छन् । युद्धविराम भएको अवस्थामा विपीनको रिहा हुने आशा नेपालको छ । यसअघि गत वर्षको कात्तिक १२ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायल–हमास युद्धमा बेपत्ता भएका जोशीको सकुशल घर फिर्तीको कामना गरेका थिए । उनले बन्धक बनाइएकाहरूलाई हमासले विनाशर्त रिहा गर्नुपर्ने बताएका थिए ।
हजारौं माइल परको मध्यपूर्वमा भएको हिंसाले नेपालीलाई पनि प्रत्यक्ष असर पारेको भन्दै उनले त्यसबेला दुःख व्यक्त गरेका थिए । विपीन कञ्चनपुरका बासिन्दा हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी हुन् । उनीसहित ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० को भदौ अन्तिम साता इजरायल गएका थिए । तर, एक महिना पनि नभई असोज २० गते हमासले इजरायलमा आक्रमण ग¥यो । आक्रमणमा परेर सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
तत्कालीन परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले विपीनलाई रिहा गर्न इजरायलसँग पटकपटक अनुरोध गरेका थिए । कतारसहितका अरब देशहरूसँग पनि रिहाका लागि पहल गरिदिन अनुरोध गरेका थिए । उनलाई विपीनको आमाबुबाले भेटेर रिहाका लागि थप पहल गर्न आग्रह पनि गरे । वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणाले असंलग्न राष्ट्रहरू सम्मिलित संगठनको मन्त्रिस्तरीय बैठकलाई गत असोज ८ मा अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले नेपाल बिपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन् । यस्तोमा नवनियुक्त इजरायली राजदूत वासले विपीन जीवित रहेको र उनी चाँडै नेपाल फर्किने भनेका हुन् । जोशीका बुबा महानन्द जोशीले आफूहरू विपीन सकुशल घर आइपुगुन् भनेर भगवानसँग प्रार्थना गरिरहेको बताए ।
‘हाम्रो छोरालाई सपनामा देख्छौँ । उनी घर आउन चाहेको देख्छौँ । विपनमा हुँदैनन् र दुःख लाग्छ’, उनले प्रभावसँग भने, ‘भगवान ! हाम्रो छोरा सकुशल घर आइपुगुन् भनेर दिनरात प्रार्थना गरिरहेका छौँ ।’हमासको आक्रमणपछि इजरायलले जवाफी आक्रमण गरिरहेको छ । हालसम्म झण्डै ५० हजार प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिएका छन् ।