पाकिस्तान- अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ ।
ती सैनिकले तीन जना बन्दुकधारीको हत्या गरेको बताइएको छ । जिहादी र पृथकतावादी समूहहरूले अफगानिस्तानसँग जोडिएको पहाडी सीमामा सेना र प्रहरीलाई निशाना बनाउने गरेका छन् । गत नोभेम्बरमा सो प्रान्तमा २४ घण्टाभन्दा कम समयमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।
पाकिस्तानी तालिवानको नामले पनि चिनिने तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आठ सैनिक र नौ लडाकूको ज्यान जाने गरी भएको एउटा आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणको केही घण्टापछि हाफिज गुलबहादुर सशस्त्र समूहले खैबर पख्तुनख्वा प्रान्तको एक चेकप्वाइन्टमा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो।
टिटिपीले अक्टोबरको अन्त्यमा खैबर पख्तुनख्वाको एक चेक पोस्टमा भएको आक्रमणमा १० जना प्रहरी अधिकारीको मृत्यु भएको दाबी गरेको छ । टिटिपी हाफिज गुलबहादुर समूहबाट अलग छ, तर दुवै सन् २००१ देखि अमेरिकी नेतृत्वको नेटो गठबन्धनविरुद्ध अफगान तालिबानलाई सहयोग गर्न सक्रिय थिए ।