काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएको हो ।
पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया आगाडि बढेको बताए ।
मन्त्री पाण्डेले यो आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ’दिगो भविष्यसः आगामी ८० वर्षको लागि सँगै’ भन्ने रहेको छ ।