मन्द अँध्यारो कोठा । मंसिरको जाडोले कक्रिएर पातलो ओड्ने ओडेर पल्टिरहेको छ अधवैशे दारीवाल । मनमा भय, त्रास र आतंक अनुहारमा छछल्किरहेको छ । खै के पो गर्ने हो, भित्रभित्रै डरले मुटु काँपिरहेको छ ।
मध्यरात कोही घुरेर निदाइरहेका छन् । कोही आच्छुऽ आच्छुऽ कस्तो जाँडो भन्दै छन् । सबैको उही नियति छ । डर र त्रास भने फरक–फरक छ । चिसो कोठामा न दया न माया, अपराध गरेको होस् या नहोस् तर बन्दी बनेको छ ।
मध्यरात, फलामको ढोका उघारेर नीलो बर्दीवाला पल्टिरहेको दारीवाललाई कोट्याउन पुग्छ । दारीवाल झस्किन्छ । ‘के भो ?’ दारीवाल प्रश्न गर्छन् ।बर्दीवाल कुनै युद्ध जितेर आएको सिपाहीजस्तै गर्जिन्छ– ‘खुरुक्क उठेर हिँड्’ ।
नीलो क्रान्तिको ‘अगुवा’ दारीवाललाई निलै बर्दीवालले मध्यरातमा सातो लिने प्रयास गर्छ । दारीवाल ओड्ने पन्छाएर उठ्छ र सोध्छ, ‘यो मध्यरात कहाँ जाने ?’नीलो बर्दीवाल कड्किन्छ– ‘माथिको आदेश छ, हामीलाई जहाँ मन लाग्यो त्यही जाने । तँलाई भनेर लैजाने हो र ?’
‘जान्न म यो मध्यरातमा, जानै परे भोलि बिहान जान्छु,’ दारीवाल आफूलाई अलि निडरजस्तै गरी भन्छ । तर बर्दीवाललाई माथिको आदेश छ । दारीलाई कड्किँदै भन्छ, ‘मलाई कुनै कुरा सुन्नु छैन, खुरुक्क हिँड् ।’‘म अहिले जान्न, यो रातिको समयमा किन जाने ? अनि बोल्दाखेरी अलि भद्र बन्नूस्,’ दारीवाल पनि के कम, उल्टै आदेश दिएजस्तै बोल्छ ।
उत्तर कुनामा अडेस लागेर हरियो ब्ल्यांकेट ओडेर एकनासले हेरिरहेको अर्को थुनुवा हाँस्छ । ‘समय हो समय, कहिले कसको पालो कहिले कसको पालो । दिन एकैनासको कहाँ हुन्छ राजा ? हामीले त यहाँ बसेर कति पीडा पायौं पायौं । अब पालो तिम्रो’ थुनुवा ताली बजाउँछ ।
दारीवाल अर्को थुनुवातर्फ निराश भएर हेर्छ । बर्दीवाल दारीवाललाई बाहिर निस्कन भन्छ । बर्दीवालको कुरा सुन्दा दारीवाललाई कतै अन्तै लैजान खोजेको हो कि भन्ने भान हुन्छ । उसलाई कता–कता डर लाग्छ । नजाउँ थुनुवा कोठामा, जाउँ भने मध्यरात कतै केही पो गर्ने हुन कि ?
दारीवालको मनमा चिसो पस्यो । मनमनै सोच्छ, ‘त्यसै छाड्लान जस्तो छैन नखाएको विष लागिरहेको छ ।’ ‘जाउँ कहाँ गाउँ छाडी लुक्ने सहर देख्या छैन’ गीत मस्तिष्कमा आउँछ ।दारीवालको मनमा अझ डर बढ्दै गएको छ । तर पनि ऊ बाध्य भएको छ । बर्दीवालको पछिपछि लाग्छ । दिनभर अदालतबाहिरको भीडभाड र नारा जुलुस सम्झन्छ । अनि मध्यरात कतै लैजाँदै गर्दा उसले माओवादी जनयुद्धको समय सम्झन्छ । शासकहरुले आफ्नो कमजोरी लुकाउन जे पनि गर्न सक्छन् भन्ने कुरा दारीवालले पनि बुझेको छ ।
दारीवाललाई बर्दीवालले हिरासतबाट बाहिर लैजान्छ । बन्दुकधारी अरु नीला बर्दीवाला पनि देखिन्छन् । ठूलै अपराध गरेजस्तै गरी मध्यरातमा दारीवाललाई गाडीमा राखिन्छ । दारीवाललाई गाडीमा राखेपछि टुप्पोमा राखिएको रातोबत्तीसँग बजेको एकोहोरो ‘साईरन’सँगै गाडी हुँइकिन्छ । मध्यरात दारीवाललाई बर्दीवालले गरेको कर्मप्रति भित्रभित्रै रन्थनिएको छ । ‘साला, नियम कानुन, संविधानभन्दा माथि कुनै व्यक्तिको आदेशमा चलाउन पाइन्छ ? मैले कस्तो नबुझेको रहेछु । म जस्तै अरु कतिले यस्तै पीडा खेप्नुपरेको छ होला ?’ मनभित्र अनेक कुरा खेलिरहेको छ । मध्यरातमा हुँइकिएको गाडीमा बसिरहेको दारीवाल अब मेरो दिन सकियो कि क्या हो भन्ने सोचिरहेको छ ।
नीलो क्रान्तिका लागि हिँडेको दारीवाललाई आज नीलो बर्दीवालकै कारण भित्रभित्र मृत्युको मुखमा पुगेकी भन्ने डर लागिरहेको छ । जसरी प्रल्हादलाई हिरण्यकश्यपुको आदेशमा बहिनी होलिकालाई काखमा राखेर जलाउने प्रयास गरेकी थिइन् । अहिले नीलो क्रान्ति भन्दै हिँडेको दारीवालको अवस्था त्यस्तै भएको छ । ‘नो नट अगेन’ बन्दै नीलो क्रान्तिको सपना बुनाएर उही हिरण्यकश्यपुको आदेशमा होलिकाहरुको काखमा बसेर रमाउन पुगेको दारीवाल आज तीनै होलिकाहरुकै कारण नीलो बर्दीवालको फन्दामा परेको छ ।
होलिकाहरु नीलो बर्दीवालको सहयोगले दारीवाललाई कहिले यता र कहिले उता कुदाइरहेका छन् । होलिकाहरुको काखमा बस्नै हुन्नथ्यो भन्ने थाहा हुँदाहुँदै पनि दारीवाल नीलो बर्दीवाललाई तह लगाउनेगरी बसेका हैनन् र ?तर समयले कोल्टे फेरेको छ । होलिकाहरुले आफ्नै काखमा राखेर दारीवालको दारी डढाउने प्रयत्न गरिरहेका छन् । स्वार्थको चंगुलमा नीलो क्रान्ति कसरी सम्भव होला र ? नीलोलाई नीलो, कालोलाई कालो भन्न सक्नुपर्छ ।
भ्रममा अर्काको ‘बा’ लाई आफ्नै ‘बा’ मानेर हजारौ गल्तीहरुको ढाँकछोप गर्दै होलिकाको न्यानो काखमा बसेर ‘बा’ लाई ‘म्वाई’ खाँदै नर्कमा बसेर स्वर्ग देख्दाको हविगत दारीवालले नीलो बर्दीवालबाट भोगिरहेका छन् । आखिर हिरण्यकश्यपुलाई कुनै हालतमा पनि प्रल्हादलाई सिध्याउनु छ । त्यस्तै दारीवालको नीलो क्रान्तिलाई जसरी हुन्छ सिध्याउनुपर्छ भन्दै नीलो बर्दीवाललाई होलिकाका रुपमा प्रयोग गरिएपछि कसको पो के लाग्छ र ? कहिले कास्की, कहिले बुटवल, कहिले चितवन, कहिले काठमाडौं, कहिले बारा । दाह्रीवालको भाग्य पनि कति चम्केको हो प्लेनमै डुलेको डुल्यै छन् कठै वर ! राज्य होस् त नेपालजस्तो । शासक हुन् त देउऽली जस्तो !
सानो होस् कि ठूलो, अपराधी बनून् दारीवाल । कानुनसानुन यस्तै हो आदेशमात्र मानून् नीलो बर्दीवाल । ‘बा’ हरुको साथ, होलिकाको काखमा होस् बास !न्याय नपाए गोर्खा जानु भन्थे, अहिले त गोर्खा आफैंले न्याय पाएको छैन । दारीबाल झल्याँस झस्किए । खोला सुसाइरहेको थियो । नीलो बर्दीवाल दारीवाललाई आदेशका नाममा अनेक सुनाइरहेका थिए । नीलो गाडी नीलो बर्दीवाल । नीलो क्रान्ति गर्ने दारीवाल । बिहान यता, दिउँसो उता, रातमा कता–कता भाग्यमा नै प्वालै प्वाल ।