राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट मंसिर २१ गते बिहान ३ बजे कास्कीको पोखरा लगियो । सामान्यतया बिहान ३ बजेलाई नेपालीहरुले मध्यरात भन्ने गर्छन् । यो सामान्य दैनिकी भएकाहरुको मध्यनिद्राको समय हो । अझ चिसो याममा त यतिबेला हिँड्डुल गर्न पनि मुस्किल हुन्छ ।
यही बेला देशको चौथो ठूलो पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट पोखरा लगिनुलाई गम्भीरतापूर्वक लिनुपर्छ । बिहान ३ बजेको समय एक त अनुकूल हुन्न, अझ सडक भएर लानु अझै अनुचित हो । सडक सुरक्षाका विषयमा अन्तर्राष्ट्रिय निकायहरुले साँझ ४ः०० बजेपछि नेपाली सडकमा सवारीसाधन चलाउन मान्दैनन् । अझ चितवनदेखि पोखरासम्म प्रहरीले जबरजस्ती एक आरोपीलाई लैजानु उचित लाग्ने विषय हैन ।
हुस्सुले बाटो ढाक्ने, सडक बत्तीका कारण सडक सुरक्षित छैन । यतिमात्र हैन मध्यरातमा जंगली जनवारको उत्तिकै डर हुन्छ । यस्तो अवस्थामा जोखिम मोलेर सुरक्षा निकायबाटै यस्तो कदम चल्नु ठीक हुन्न । सरकारले काम गर्ने सरकारी समय हुन्छ, यस विषयमा सरकार गम्भीर हुनुपर्छ । झट्ट हेर्दा यो सामान्य लागे पनि अमानवीय व्यवहार भने पक्कै हो । यसैका कारण नेपाल प्रहरीमाथिको विश्वासनीयतामा प्रश्न उठ्न सक्छ ।
अर्को विषय भने रास्वपाले पनि ख्याल गर्नैपर्ने देखिन्छ । सभापति लामिछानेमाथि विभिन्न स्थानको सहकारीको रकम अपचलनको आरोप छ । यसमाथि प्रशासनले अनुसन्धान जारी राखेको बेला अनावश्यक हुलदंगा मच्चाउनु ठीक हुन्न । चितवनमा रास्वपाले गरेको प्रदर्शनबाट आत्तिएर नै प्रशासनले रातारात लामिछानेलाई पोखरा पु¥याउन बाध्य भएको पनि हुन सक्छ । किनकि २० गते लामिछाने त्यहाँ पुग्दा रास्वपाको आन्दोलनका कारण केही प्रहरीसहित आन्दोलनकारी पनि घाइते भएका थिए ।
वीरगञ्ज पु¥याउँदा पनि रास्वपा समर्थकले यसरी नै विरोध गरे । अदालतबाट बयान लिने क्रम जारी रहँदा पार्टी नै लागेर यसरी विरोधमा उत्रन हुन्न । अनुसन्धानमा भएको ढिलासुस्तीबारे प्रश्न राख्न सकिन्छ । आफ्नो पक्षबाट सहभागी भएका कानुन अधिकृतमार्फत यसबारे खबरदारी गर्न सकिन्छ । तर, आफ्नै पार्टीका सांसद सदस्य रहेको संसदीय समितिले अनुसन्धानका लागि बाटो खुला गरेको विषयमा दोषी नै नभएको भन्दै नेता कार्यकर्ताले हड्ताल गरेको सुहाउँदैन । यतिबेला सत्तापक्षले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नु र रास्वपा कार्यकर्ता तथा रवि समर्थकले संयमता अपनाउनुको विकल्प छैन ।