सरकारले नागरिकको सहजताका लागि विभिन्न क्षेत्रमा लगानी गर्छ । पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकता हो । पहिले सडक, त्यसपछि पुल अनि त्यसपछि सुरक्षाको प्रबन्ध । पछिल्ला दिनहरुमा सडक बढेसँगै सुरक्षालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सडक सुरक्षाका लागि कि त सबवे नभए ओभरहेड ब्रिज । काठमाडौं महानगर यसरी सबहेड ब्रिज बनाउनमा अगाडि देखिन्छ । तर, अध्ययन अनुसन्धानविनै हचुवामा लगानी गर्दा भने यस्ता विकासको उद्देश्य पूरा नभएको देखिन्छ । यसको पछिल्लो उदाहरण हो– जयबागेश्वरी आकाशे पुल ।
पैदलयात्रीलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले जयबागेश्वरीमा आकाशे पुल बनाएको थियो । तर उक्त पुल प्रयोग गर्ने मानिस भेटिएमा अचम्म मान्नुपर्ने अवस्था आएको छ । कारण यो पुल प्रयोग गर्ने मानिस झुक्किएर मात्र भेटिन्छन् ।पौने करोड लगानीमा तीन वर्षअघि बनेको उक्त पुलट जयबागेश्वरी मन्दिरबाट करिब १०० मिटर दक्षिणतर्फ निर्माण भएको उक्त पुल निर्माणताका नै विवादित बनेको थियो । पशुपति क्षेत्र विकास कोषले फलामे आकाशे पुल निर्माण गर्न अड्को थापेको थियो । पछि काठमाडौं महानगरपालिकाले कोषकै सहमतिमा पुल निर्माण गरेको थियो । पशुपति मन्दिर जाने हजारौं यात्रुहरु जयबागेश्वरी मन्दिरबाट बाटो सडकबाट नै बाटो काट्ने गर्दछन् । जहाँबाट बाटो काट्दा दुर्घटनाको जोखिम मोल्नुपर्छ ।
पैदलयात्रुको सुरक्षाकै लागि भनेर निर्माण गरिएको पुल अपायक ठाउँमा राख्दा सडकबाट बाटो काट्नेको चाप हुँदा पनि आकाशे पुल खाली नै देखिन्छ । यहाँका जनप्रतिनिधि पनि पुल प्रयोगविहीन भएको स्वीकार्छन् । कलंकी र गोगंबुमा बनेका आकाशे पुल पनि अनुसन्धानविनै तेर्सिंदा भत्काउनुपरेको थियो । यद्यपि, जयबागेश्वरीको पुल फलामको भएकोले यसलाई सार्न मिल्छ । उसो त यो क्षेत्रबाट हिँड्ने बानी बसाउन पनि सकिन्छ । यसका लागि स्थानीय सरकार र ट्राफिक प्रहरीले समन्वय भने गर्नुपर्ने हुन्छ । पुल बनाउँदा अध्ययन नै नगर्ने, सहज तरिकाले नबनाउने र जथाभावी बाटो काट्दा पनि ट्राफिक प्रहरीले कारबाही नगर्दा पनि यस्ता समस्या देखिएका छन् । यसैले यस्तो विषयमा सम्बन्धित निकायको पनि ध्यान जान जरुरी छ । यसका लागि लगानीपूर्व अध्ययन जरुरी छ । लगानीपछि पायक बनाउन प्रशासन पनि लाग्नुपर्छ ।