काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।१९ रनको लक्ष्य लिएर गएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।
एनपिएलकै पहिलो सुपर ओभरमा पुगेको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।पोखराको जितमा रेमोन रेइफर नायक बने । रेइफरले निर्धारित खेलको अन्तितम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र १ चौका हान्दा पोखराले १८ रन बनाएको थियो ।
सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाए ।लिगमा पाँचौ खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ र प्लेअफ सम्भावना कायम राखेको छ । पाँच खेलमा चौथो हार व्यहोरेको विराटनगरको २ अंक मात्र छ र प्लेअफ होड कठिन बनेको छ ।
त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।पोखराका लागि ओपनर आन्द्रेस गौसले २७ बलमा ७ चौका मदतमा ३६ रन बनाए । कप्तान कुशल भुर्तेलले ३१ रन बनाए। उनले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।बलिङमा विराटनगरका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।
बसिर अहमदले २० बल खेल्दै १ छक्का मद्दतमा अविजित २१ रन बनाए ।पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।