पोखरा — नेपाल पुलिस क्लब १८औं रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३–० ले पराजित गर्दै पार्दै उपाधि नजिक पुगेको हो ।
सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिसका भरत शाहले खेलको ८औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । पुलिसको जितमा निर कुमार राईले दुई गोल गरे । यस्तै भरत शाहले एक गोल थपे ।
आक्रामक शैलीमा खेलेको पुलिस क्लबलाई ५१ औं मिनेटमा नीरकुमार राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको ७१ औं मिनेटमा राईले पुनः दोश्रो गोल गर्दै खेललाई ३–० को अग्रता दिलाए ।
खेलको दोश्रो हाल्फमा केही सुधारसहित मैदान प्रवेश गरे पनि थ्रीस्टारले कुनै गोल फर्काउन सकेन । १६ औं आहा रारा गोल्डकप फाइनल खेलमा नेपाल पुलिस क्लबसँग थ्रीस्टार १–० ले पराजित भएको थियो । पुलिसका निर म्यान अफ दि म्याच चुनिए ।
बिहीबार दोश्रो सेमिफाइनल खेल अन्तर्गत फाइनल यात्राका लागि साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दीबीच हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रूपैयाँ प्राप्त गर्नेछ ।