काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा कानुन व्यवसायी परिषद् ऐन (दोस्रो संशोधन) विधेयक, २०५१ माथिको सैद्धान्तिक छलफलमा उहाँले यस्तो बताएका हुन् ।
“कानुन व्यवसायलाई व्यावसायिक र समयसामयिक बनाउन परिषद्को ऐन परिमार्जन गर्न जरुरी छ”, मन्त्री चौरसियाले भने ,“अनुशासनको कारबाही, वरिष्ठ अधिवक्ताको मापदण्डलाई थप प्रभावकारी बनाइएको छ, यसले कानुन व्यवसायलाई व्यवस्थित बनाउन सहयोग गर्छ । समितिमा बृहत् छलफल गरेर परिमार्जन गर्नुपर्छ ।”
सोही मन्त्रालयका सचिव उदयराज सापकोटाले लयर्स एकेडेमी खोलेर कानुन व्यवसायीलाई तालिम दिने व्यवस्था गरिएको र विधेयक धेरै विषय परिमार्जन गरेर आएको बताए। उनले तालिमका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भने धेरै प्रश्न उठ्ने गरेको र विधेयकमा विभिन्न चरणमा सजायका प्रावधानहरू रहेको जानकारी दिए।समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकमाथि सैद्धान्तिक छलफलपछि सरोकार भएका पक्ष र विज्ञसँग छलफल गरेर दफावार छलफल गरिने बताए ।