- भारतीय जासुसी संस्था ‘रअ’का पूर्वएजेन्ट लक्की भनिने लक्ष्मणसिंह विष्टले गत बिहीबार भारतको सञ्चारमाध्यम नवभारत टाइम्सलाई अन्तर्वार्ता दिँदै केही दिनमै नेपालको सरकार ढल्ने दाबी गरेका थिए
- अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार भएकोले दुई दलले नचाहँदासम्म कसैले चाहेर सरकार नढल्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाइ
काठमाडौं– नेपालमा नयाँ सरकार बन्नसाथ छिट्टै ढल्ने अड्कलबाजी हुन्छ । मुख्य कारण हो, राजनीतिक दाउपेच । यसपटक पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार मसान्तमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै ढल्ने अड्कलबाजी भयो ।
सरकार चाँडै ढल्ने ठोकुवा गर्ने नेता हुन् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । दैनिकजसो भाषणमा दाहालले यो सरकार चाँडै ढल्ने बताउँथे । पछिल्लोपटक प्रधानमन्त्री ओली चीन भ्रमणमा गएयता भने दाहाल मौन छन् । बरु भारतीय जासुसी संस्था ‘रअ’का पूर्वएजेन्ट लक्की भनिने लक्ष्मणसिंह विष्टले गत बिहीबार भारतको सञ्चारमाध्यम नवभारत टाइम्सलाई अन्तर्वार्ता दिँदै केही दिनमै नेपालको सरकार ढल्ने दाबी गरे । ‘१०–१५ दिन अथवा एक महिनाभित्रमा नेपालको सरकार ढल्न सक्छ,’ विष्टले भनेका छन् ।
विष्टको यो अन्तर्वार्तालाई नेपाली सञ्चारमाध्यमले प्राथमिकताका साथ कभर गरेको देखिन्छ । विष्टले यतिमात्र हैन, नेपालमा धेरै नै गुप्तचर संस्थाका एजेन्टहरु भएकोले काम गर्न निकै मुस्किल हुनेसमेत बताए । उनले नेपालमा पनि काम गरेको र थुप्रै मिसन सफल गरेको दाबी गरेका छन् । यतिमात्र हैन विष्टले सूचना सबैभन्दा शक्तिशाली चिज भएकोले आफूले यो सबैलाई बाँडेको तर्क गरेका छन् ।
चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चा
विष्टको भनाइ अहिले सामाजिक सञ्जालमासमेत चर्चामा छ । सार्प सुटरका रुपमा चिनिएका विष्टका अन्तर्वार्ताहरु युट्युबलगायतका सामाजिक सञ्जालमा अत्यधिक हेरिएको पाइन्छ । नेपाल सरकारको भविष्यवाणी गरिएको क्लिप्स अहिले भाइरल बनेको छ । योसँगै सरकार ढल्ने विषयले चिया पसलदेखि सामाजिक सञ्जालसम्म प्रवेश पाएको छ । हिजोआज बसदेखि बस बिसौनीसम्मै पनि यो विषयमा सर्वसाधारण गफिन थालेका छन् । योसँगै सरकारसमेत त्रासमा परेको छ ।
यसै विषयको बचाउमा प्रधानमन्त्री ओली सरकार बनेदेखि लागेका छन् । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,’ ओलीको हरेक सभाको भाषण यही हुने गर्छ । यतिमात्र हैन एमालेले यसविरुद्ध मंसिर ७ गते दरबारमार्गमा शक्ति प्रदर्शनसमेत ग¥यो ।
अहिले प्रधानमन्त्री ओलीको हरेक दिनको काम नै ‘सरकार ढल्दैन’ भन्दै जवाफ दिने भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले आरोप लगाएका छन् । ‘केपीजीको पनि कामै जम्माजम्मी यो सरकार ढल्दैन भन्ने,’ चन्दले मंसिर ८ गते भनेका थिए, ‘जनतालाई के लागेको छ भने यो सरकार राति ढल्नसक्छ, यो रातको १२ बजे ढल्न सक्छ, यो बिहानै उछिट्टिन सक्छ ।’
चन्दको भनाइलाई एमाले महासचिव शंकर पोखरेलले कटाक्ष गरेका छन् । उनले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दाबी गरे । सोमबार नेपाल निजामती कर्मचारी संठठनले आयोजना गरेको प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने ठोकुवा गरेका हुन् ।‘अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ पोखरेलले भने, ‘यथार्थ यही हो, नडराइ ढुक्कले काम गर्न गर्नूस् ।’
आलोचना बढ्दो
तेस्रोपटक प्रधानमन्त्री भएयता एमाले अध्यक्ष ओलीको आलोचना बढ्दो छ । मन्त्री र कर्मचारीलाई निर्देशन दिनेबाहेक प्रधानमन्त्री ओलीले कुनै काम नगरेकोले आलोचना बढेको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । ‘ओलीको काम गर्ने क्षमता खिइँदै गएको छ । त्यसैले पनि उनको आलोचना बढ्न थालेको हो,’ पोखरेलले भने ।
त्यसो त कुनै बेला ‘साइबर सेना’ नै बनाएर ओलीको बचाउमा लागेकाहरु अहिले मौन बसेसँगै उनको आलोचना बढेको बताउनेहरु पनि छन् । साइबर सेनाको मुख्य नेता मानिने महेश बस्नेत अहिले विभिन्न आरोपका कारण छायामा छन् । पछिल्लो समय ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दुर्गा प्रसाईंका समर्थकको तारो बनेका छन् ।
ओलीको काम गर्ने क्षमता खिइँदै गएको छ । त्यसैले पनि उनको आलोचना बढ्न थालेको हो ।
कृष्ण पोखरेल
प्राध्यापक एवं राजनीतिक विश्लेषक
अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन ।
शंकर पोखरेल
महासचिव, नेकपा एमाले